बोको हरामका कारण २२ हजार नाइजेरियाली बेपत्ता

एजेन्सी । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकअघि आतंकवादी संगठन बोको हरामले आक्रमण शुरु गरेयता हालसम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका छन् ।

अन्तर्राष्ट्रिय रेडक्रस (आइसीआरसी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आइसीआरसीको रेकर्डमा यति ठूलो संख्यामा बेपत्ता नागरिकको सूची सार्वजनिक भएको यो पहिलो रहेको जनाइएको छ ।
आइसीआरसीका अध्यक्ष पिटर माउरर हाल पाँच दिवसीय भ्रमणका सिलसिलामा नाइजेरियामा हुनुहुन्छ ।

बेपत्ता भएकाहरुमा झण्डै ६० प्रतिशत बालबालिका रहेका छन् । माउररले हजारौं अभिभावक आफ्ना बेपत्ता बालबालिका अझै पनि घर फर्किने प्रतिक्षामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक अभिभावकको सपना आफ्ना बालबच्चा भेटिऊन् नै भन्ने हो । यो हजारौं नाइजेरियाली बाबुआमाको दुःखद यथार्थ हो, र उनीहरु निरन्तर आफ्ना बालबच्चाको खोजीमा देखिन्छन् ।”

उहाँले आफ्ना प्रीय आफन्तका बारेमा थाहा पाउनु जनताको थाहा पाउने अधिकार हो भन्दै पारिवारिक बिछोड हुन नदिन सबै पक्षले विशेष ध्यान दिनुपर्दछ भन्नुभयो । माउररले नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारी, वरिष्ट सरकारी अधिकारीहरु, नागरिक समाज र व्यवसायिक नेताहरुसँग पनि भेटघाट गर्नुभएको थियो । उहाँले माइदुरी र मोन्गुनोमा द्वन्द्वका कारण बेपत्ता भएका परिवारका सदस्यहरुसँग पनि कुराकानी गर्नुभएको थियो । यी दुवै स्थान बोको हरामको बलियो प्रभाव रहेको बोर्नो राज्यमा पर्दछ ।

आइसीआरसीले नाइजेरिया रेडक्रससँग मिलेर बेपत्ता व्यक्तिको खोजीका लागि फोटो र घरदैलो कार्यक्रम गरिरहेको छ । सन् २०१३ देखि हालसम्म आइसीआरसीले ३६७ जनाको समस्या सुल्झाएको छ ।नाइजेरियाको उत्तरपश्चिमी ठूलो क्षेत्रमा सशस्त्र हिंसाको अवस्था छ, र त्यहाँ कुनैपनि मानवीय संस्थालाई काम गर्न सहज छैन । सरकारी फौज र विद्रोहीबीच भइरहने झडपका कारण यहाँबाट धेरै मानिस अन्यत्र पलायन वा विस्थापित भएका छन् ।

आइसीआरसीका अनुसार यहाँ स्वास्थ्यकर्मीमाथि पनि आक्रमण हुने गरेको छ । एक वर्षपहिले पनि दुई जना मानवीय सहायताकर्मीलाई विद्रोही बोको हरामले हत्या गरेका थिए । सन् २००९ देखि नाइजेरियामा बोको हरामले सशस्त्र हिंसात्मक आन्दोलन जारी राखेको छ जसका कारण २७ हजारको मृत्यु भइसकेको छ भने करिब २० लाख मानिस विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?