बाँके घटनाका दोषीलाई कारवाही गर्न काङ्ग्रेसको माग

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाँकेमा बिहीबार पार्टीको कार्यक्रममा भएको साङ्घातिक हमलाका दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले शुक्रबार पत्रकार सम्मेलन गरी सो घटनालाई गम्भीर रुपमा लिएको र घटनाको विरोधमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– ३ को प्रदेशसभा ‘ख’को खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रसको हलमा काङ्ग्रेसको कार्यक्रम भइरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले साङ्घातिक हमला गरेको काङ्ग्रेसले आरोप लगाएको छ । आक्रमणबाट काङ्ग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँचिनुका साथै केही कार्यकर्ता घाइते भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र स्थानीय प्रशासनसमेत संवेदनशील नहुनुलाई काङ्ग्रेसले सुनियोजित एवम अत्यन्त गम्भीर घटनाको रुपमा लिएको उहाँले बताउनुभयो ।

राजनीतिक दलले साङ्गठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि आक्रमण गरिएको काङ्ग्रेसको आरोप छ । बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध काङ्ग्रेसले गरेको कार्यक्रममा उर्लदो जनलहर र जनसहभागिता देखेर सत्ता पक्षका कार्यकर्ता अत्तालिएको प्रवक्ता शर्माले आरोप लगाउनुभयो । काठमाडौँ, ललितपुर र भक्तपुरका काङ्ग्रेस जिल्ला सभापतिको अगुवाइमा शनिबार गृहमन्त्रीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा काङ्ग्रेस ललितपुरका सभापति मदन आमात्यले जिल्ला सभापति सुरक्षित हँुदैनन् भने सर्वसाधारण कसरी सुरक्षित होलान भनी सरकारसँग प्रश्न गर्नुभयो । उहाँले जिल्ला सभापति कोइरालामाथि आक्रमण हुँदा सरकारी संयन्त्र मौन रहनु प्रजातन्त्रका लागि खतरा भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ ९सबुज०ले घटनाको ७७ जिल्लाकै पार्टी समितिले विरोध गरेको बताउनुभयो । उहाँले दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गर्नुभयो । उक्त घट्नाको देशव्यापी रुपमा साङ्केतिक विरोधस्वरुप शनिबार माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरिने बानियाँले बताउनुभयो ।

यस्तै काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सो घटना लोकतन्त्रमाथिको आक्रमण भएको बताउनुभयो । बाँके घटनाका बारेमा बुझ्न काङ्ग्रेस सभापति शेरबहादुर देउवा शनिबार नेपालगन्ज जाने शर्माले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?