मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालन

काठमाडौं | मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं २०७० देखि बन्द भएको सो विमानस्थलमा गण्डकी प्रदेश सरकारको पहलमा आज समिट एयरको विमान अवतरण गरेको हो ।

प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, प्रतिनिधिसभाका सांसद पोल्देन गुरुङलगायत समिट एयरको विमानबाट हुम्डे विमानस्थलमा अवतरण गर्नुभएको थियो ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले विमानस्थल नियमितरुपमा सञ्चालन गर्नका लागि प्रदेश सरकारको तर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

असोज महीनाको १० गते अन्तरराष्ट्रिय पर्यटन दिवसबाट विमानस्थल नियमित उडान गराउने प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिँदै उहाँले यसले हिमाली क्षेत्रका स्थानीय बासिन्दाका साथै पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री लम्सालले पर्यटनसँग सम्बन्धित निकायसँग सहकार्य गरी मनाङमा पर्यटन प्रवद्र्धनमा जोड दिइनेछ भन्नुभयो । सांसद गुरुङले परीक्षण उडानले मनाङवासीमा उत्साह थपेको बताउँदै पर्यटन आवागमनको मौसममा नियमित उडान गर्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०३९ मा निर्माण सम्पन्न गरी सञ्चालनमा आएको ९०० मिटर लम्बाइको धावनमार्ग रहेको सो विमानस्थल २०७० सालमा कालोपत्र गरिएको थियो ।

एघार हजार १४५ फिट उचाइको हुम्डे विमानस्थल विश्वको १८औँ अग्लो स्थानमा रहेको विमानस्थल हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?