सरकारद्वारा काठमाडौंमा १ हजार सडक बालबालिकाको उद्धार

काठमाडौं । सरकारले गत एक वर्ष भित्र काठमाडाैं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ । राष्ट्रिय बाल दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्यांकमा काठमाडौं उपत्यकाबाट सो परिणाममा सडक बालबालिकाको उद्धार गरी पुर्नस्थापना गरिएको उल्लेख गरिएको हो । सो तथ्यांकमा चालु आर्थिक वर्षबाटै देशका मुख्यमुख्य सहरका पनि सडक बालबालिकाको उद्धार र पुनस्र्थापनाको कामलाई सुरु गर्ने योजना पनि समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले देशका अन्य सहरमा पनि सडक बालबालिकाको उद्धार तथा पुर्नस्थापनाको कामलाई चालू आर्थिक वर्षबाटै सुरु गर्नेगरी नीति, योजना र कार्यक्रम तय गरिएको पनि जानकारी दिनु भयो । उहाँले बालबालिकामाथि श्रम शोसन हुन नदिन ‘बाल श्रम गुरुयोजना’ कार्यान्वयनमा ल्याइएको पनि बताउनु भयो ।

सरकारी तथ्यांक अनुसार पछिल्ला एक वर्षमा सबैभन्दा बढि बालबालिका विरुद्धको घटनामा प्रदेश १ मा भएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा भएको छ । सचिव घिमिरेले एक वर्षयता प्रदेश १ मा सबैभन्दा बढि १३१ वटा बालबालिका विरुद्धको घटना भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको बताउनु भयो । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बालबालिकामाथि हुने सबै प्रकारको शोषण र विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध भएर लागि परेको बताउनु भयो । उहाँले बाल श्रम अन्त्यका लागि सरकारले त्यसको गूरुयोजना नै तय गरेर काम गरिरहेको पनि बताउनु भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकाको अधिकारको क्षेत्रमा सरकारले उत्साहका साथ काम गरिरहेको दावी गर्नु भयो । उहाँले स्थानीय तहसम्म पनि बाल अधिकार हनन् हुन नदिन सरकारले सहकार्यका साथ काम गरिरहेको पनि बताउनु भयो ।

सरकारले बाल अधिकार हनन् हुन नदिन उनीहरुको शिक्षा र स्वास्थ्यको अधिकारलाई सुनिश्चित गराउन लागि परेको दावी पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?