काठमाडौंलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिँदै

काठमाडौं । राजधानी शहर काठमाडौंलाई आज खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ । दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा एक औपचारिक कार्यक्रमका बिच यस्तो घोषणा गर्न लागिएको हो ।

अन्य धेरै जिल्ला पहिले नै खुला दिसामुक्त भइसक्दा पनि ‘स्मार्ट सिटी’ बनाउने भनिएको राजधानी काठमाडौं नै खुला दिसामुक्त नहुनु लज्जाको विषय बनेको थियो । काठमाडौं जिल्लामा रहेका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी रहेको थियो ।

यस अघि नै उपत्यकाको अन्य दुई शहरलाई खुला दिशामुक्त जिल्ला घोषणा गरिसकिएको छ । उपत्यकाभित्र रहेको ललितपुरलाई २०७५ जेठमा र भक्तपुरलाई २०७० साल कात्तिकमा खुला दिसामुक्त घोषणा गरिएको थियो । नेपालकै पहिलो दिशामुक्त जिल्ला घोषणा गरिएको जिल्ला कास्की हो । कास्कीलाई भने २०६८ असार १० गते नै खुला दिसामुक्त घोषणा गरिएको हो । अझै सम्म पनि मुलुकको राजधानी काठमाडौंमा शौचालय व्यबस्थित हुन सकेको छैन । त्यसैले उक्त कार्यक्रम लागु हुनेमा शंका रहेको छ ।

काठमाडौंसहित महोत्तरी र कपिलवस्तु जिल्लालाई पनि आजै खुला दिसामुक्त घोषणा गर्न लागिएको छ । एकै दिन तीन वटा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न लागिएको यो पहिलो पटक हो ।

२०६८ यता शौचालय निर्माणका लागि ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भइसकेको खानेपानी मन्त्रालयले जनाएको छ ।
साथै यही असोज १३ गते सरकारले मुलुकलाई नै खुला दिसामुक्त देश घोषणा गर्ने तयारी गरिरहेको छ ।

भदौ मसान्तभित्रै खुला दिसामुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिइएपनि , लक्ष्यअनुसार काम नभएकाले असोज १३ को नयाँ मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?