मूल्य घटाउँदा पनि बिक्री भएन संस्थानको चामल

काठमाडौं । जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् । बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो । दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम मात्रामा चामल बिक्री हुन थालेपछि दशैँ र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रुपमा रहेको छ । यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन ।”

बजारका पसलहरुमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन थालेको प्रमुख ओझाको दाबी छ । खाद्य संस्थान बाजुराले प्रतिकिलोग्राम मोटो चामल ४५, सोना मनसुली ४८ र जिरा मसिना चामल ६२ का दरले बिक्री गर्दै आएको छ । “बजारको मूल्यभन्दा पाँचभन्दा कम मूल्यमा बिक्री गर्दा पनि चामल लिने उपभोक्ताहरु खासै आउने गरेको छैन्”, प्रमुख ओझाले भन्नुभयो ।

उहाँका अनुसार, विगतमा दैनिक १५० जनाले चामल किन्न संस्थानमा आउने गर्दथ्यो तर यो वर्ष दैनिक ४० जना पनि मुस्किलले चामल किन्न संस्थानमा आउने गरेका छन् । संस्थानका चामल खरिद गर्ने उपभोक्ताहरु ह्वात्तै घटेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । यसरी चामल किन्ने उपभोक्ताहरु घट्दै जाने हो भने गोदाममै चामल कुहिन सक्ने अवस्था आउन सक्छ, शाखा प्रमुख ओझाको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?