विमानस्थल सुरक्षा व्यवस्थापनको काममा तीव्रता

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरी विमानस्थल सुरक्षा व्यवस्थापनको कामलाई तीव्रता दिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा निकायका प्रमुख डिआईजी सूर्यप्रसाद उपाध्यायले सो विमानस्थलको सुरक्षाको उचित व्यवस्थापनको काममा तीव्रता दिइएको जानकारी गराउनुभएको हो ।

उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ समेत ध्यानमा राखेर सो विमानस्थलको सुरक्षाका लागि थप सय वटा सिसीटिभी क्यामेरा समेत जडान गर्न लागिएको जानकारी दिनुभयो । हाल सो विमानस्थलमा ३४५ वटा सिसीटिभी क्यामेर जडान गरिएको छ । त्यसमा सय वटा थप गरेर विमानस्थलको सुरक्षा व्यवस्थालाई थप भरपर्दो बनाउन लागिएको डिआईजी उपाध्यायले बताउनुभयो ।

विमानस्थलको सुरक्षाका लागि हाल सय वटा सिसीटिभी क्यामेर जडानको काम भईरहेको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा कुनै प्रतिकूल असर नपरोस् भनेर पनि सो विमानस्थलको सुरक्षाका लागि आवश्यक प्रविधि जडानको कामलाई प्राथमिकता दिइएको पनि विमानस्थलले जनाएको छ ।

डिआईजी उपाध्यायले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कुनै पनि समान नहराउने भरपर्दो व्यवस्था गरिएको पनि दावी गर्नुभयो । सबै ब्यागेजहरु सिसीटिभी क्यामेराको निगरानीमा राखेर यात्रुलाई दिने काम गरिएको पनि विमानस्थलको दावी छ । डिआईजी उपाध्यायले एयरलाईन्सहरुले कुनै पनि यात्रुको सामान हराए सम्बन्धित एयरलाईन्सबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था गरिएको पनि बताउनुभयो ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले सो विमानस्थलको व्यवस्थापनका लागि सम्बन्धित सबै निकायसँग आवश्यक समन्वयको कामलाई पनि प्राथमिकता दिइएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?