काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ ।
कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राख्नुभएपछि बजार एक्कासि बढेको हो । बजार खुल्नेबित्तिकै आइतबार र सोमबारकै लयमा घट्न थालेको थियो । जब अर्थमन्त्रीको उक्त धारणा सार्वजनिक भयो तब बजारले उकालोको यात्रा तय ग¥यो । कारोबार शुरु भएको २८ मिनेटसम्म स्थिर रहेको बजार त्यसपछि भने एकाएक बढ्न थाल्यो ।
नेप्से परिसूचकको उकालो यात्रा अपराह्न १ बजेर २७ मिनेटसम्म निरन्तर रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक २६ दशमलव ९१ बिन्दुले बढेर एक हजार १५० दशमलव ७४ मा पुगेर रोकिएको छ । प्रतिशतका आधारमा नेप्से २ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव १२ प्रतिशत अर्थात ५ दशमलव २२ बिन्दुले बढेर २५१ दशमलव ५७ मा पुगेको छ । नेप्से परिसूचक वृद्धिको तुलनामा कारोबार रकम भने बढ्न सकेन । आज कुल १७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता शेयर ३८ करोड ३९ लाख ५७ हजार ४२६ मा खरिदबिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये ११ उपसमूहको शेयर उकालो लागेको भने सामूहिक लगानी कोष भने घटेको छ । कोष ० दशमलव ०४ प्रतिशतले घटेको छ । बैङ्किङ २१ दशमलव ०७, व्यापार २ दशमलव २८, होटल ५७ दशमलव ७९, विकास बैङ्क २६ दशमलव ७७, जलविद्युत् ३९ दशमलव ५, वित्त ८ दशमलव ४६, निर्जीवन बीमा ८८ दशमलव ५७, उत्पादन १०७ दशमलव १, अन्य २० दशमलव २६, लघुवित्त ३० दशमलव २ र जीवन बीमा १०२ दशमलव ९३ अङ्कले बढ्यो ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको तीन करोड ४९ लाख ७७ हजार ३६० मा शेयर खरिदबिक्री भयो । सो बैङ्कले आर्थिक वर्ष २०७५÷०७६ को नाफाबाट २५ दशमलव २६ प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता आकर्षित भएका हुन् ।
त्यस्तै नेपाल बैङ्कको दुई करोड ९७ लाख एक हजार ६६९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दुई करोड ८३ लाख ३८ हजार २०६, शिवम् सिमेन्टएक करोड ९९ लाख ७६ हजार, प्रभू बैङ्क एक करोड ४५ लाख १९ हजार ८७८ र सानिमा बैङ्कको एक करोड २८ लाख ४० हजार ७०२ मा खरिदबिक्री भयो ।
त्यस्तै शिवम् सिमेन्टका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ९ दशमलव ६२, राधी विद्युत् कम्पनी ९ दशमलव ४५, अपि पावर कम्पनी ९ दशमलव १७, कर्णाली डेभलपमेन्ट बैङ्क ८ दशमलव ९१ र अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ८ दशमलव ९१ प्रतिशतले कमाए । बढेको बजारमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५ दशमलव ५९, आँखुखोला जलविद्युत् कम्पनी ५ दशमलव ३५, सिटिजन बैङ्क इन्टरनेशनल ५ दशमलव ०६, सिन्धु विकास बैङ्क ४ दशमलव ७६, सानिमा इक्विटी फण्ड ३ दशमलव ०३ र कालिका पावर कम्पनीका शेयरधनीले २ दशमलव ४३ प्रतिशतले गुमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया