संविधान संशोधन नभए ठूलो दुर्घटना हुन्छ : बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले सबै नेपालीको भावना समेट्नको लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । संघीय संसदको बजेट अधिवेशन समापनका क्रममा बिहीबार बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले संविधानका दुर्बल पक्षलाई संशोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनभयो ।

‘संविधान ढुंगामा कुँदेको अक्षर होइन, हिमाल, पहाड, तराईका जनताको भावना समेट्न यसलाई संशोधन गरौँ’, उहाँले भन्नुभयो, ‘संविधान आधा भरी गिलास छ, आधा खाली गिलास छ । यसलाई पुरै भरी बनाउन संशोधनको विकल्प छैन ।’
चार वर्षसम्म संविधान संशोधन गर्न नसकेकोमा चित्त दुखाउँदै नेता भट्टराईले ‘संविधान संशोधन नभए ठूलो दुर्घटना’ हुनेतर्फ सचेत गराउनुभयो ।

अर्को प्रसंगमा उहाँले कार्यकारी राष्ट्रपतीय जानै पर्ने जिकिर गर्नुभयो ।

‘हामीले निर्वाचन प्रणालीमा सुधार गर्नैपर्छ । कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ’, नेता भट्टराईले भन्नुभयोे, ‘यदि संविधान संशोधन भएन भने दुईतिहाइ, तीनचौथाइ बहुमत भए पनि परिणाम आउँदैन ।’

डा. भट्टराईले सत्ता बाहिर हुँदा भ्रष्टाचार देख्नेले सत्तामा गएपछि भुल्ने गरेको टिप्पणी गर्नुभयो ।

‘देश भ्रष्टाचारले डुङडुङी गन्हाएको छ। सत्तामा छँदा बिर्सने र सत्ता छाडेपछि सम्झिने नगरौँ’, उहाँले भन्नुभयो, ‘काम नगरी रातारात धनी हुने काम छ । निर्वाचन प्रणाली खर्चिलो भएको छ । करोडौँ खर्च गर्नुपर्ने बाध्यताले ठेकेदारर कमिशन एजेन्टबाट पैसा लिएपछि उनीहरुकै लागि संसदमा नाच्न बाध्य हुन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?