काठमाडौं । नेपाल सरकारले आर्थिक वर्षको पहिलो दुइ महिनामै बजेटको ठुलो मात्रामा रकमान्तर गरेको पाइएको छ । यसैगरि सरकारले श्रावण र भदौ महिनामा मात्र १ अर्ब ३२ करोड रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ ।
आगामी मंसिरमा हुन लागेको उपनिर्वाचन र नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागी भन्दै रकमान्तर भएको श्रोतले जनाएको छ । भदौ महिनामा मात्र १ अर्ब ३१ करोड ७४ लाख रुपैँया रकमान्तर भएको छ ।
मन्त्रालयका अनुसार निर्वाचनको समयमा भैपरिआउने खर्चमा २५ करोड सामान्य प्रशासनबाट निकाशा गरिएको हो । यो खर्च उपनिर्वाचनको सञ्चालन साथै व्यबस्थापनको लागी खर्च गरिने पनि अर्थ मन्त्रालयले जनाएको छ ।
आगामी मंसिर १५ / २४ सम्म काठमाडौंमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि कूल ९५ करोड रकमान्तर निकासा भएको छ । त्यो रकममध्ये ५५ करोड रुपैयाँ राष्ट्रिय टिमको तयारी, खेल सामग्री खरीद, समारोह व्यवस्थापन, आवास व्यवस्थापनलगायतमा खर्च हुने छ । सागमा पूर्वाधार निर्माणका लागि ४० करोड रकमान्तर निकासा गरिएको छ ।
त्यतिमात्र नभएर विभिन्न व्यक्तिलाइ दिइएको खर्च तथा भ्रमणमा भएको खर्चबाट पनि रकमान्तर देखिएको छ । सरकारले भदौ महिनामा विभिन्न व्यक्तिलाई १ करोड १९ लाख रुपैयाँ बाँडेको छ । त्यसमध्ये गुरूमा धम्मावतीको उपचारका लागि भन्दै गृह मन्त्रालयका नाममा ३ लाख ३५ हजार निकासा भएको छ ।
संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको भ्रमण खर्चका लागि सरकारले २ करोड २९ लाख २२ हजार रुपैयाँ निकासा दिएको समेत अर्थ मन्त्रालयले जनाएको छ ।
यसबाहेक नुवाकोटको दुप्चेश्वरमा भएको दूर्घटनाको घाइतेका उपचार, निर्मला पन्त काण्डको क्रममा घाइते भएकाको उपचारमा समेत रकम छुट्याइएको छ । झापा, सर्लाहीका करीव दुई दर्जन व्यक्तिका नाममा १ करोड रुपैयाँ हाराहारी निकासा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया