नेपालको ट्राफिकमा धेरै सुधार भएको छ : सर्वेन्द्र खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनको कार्यमा धेरै सुधार भएको दाबी गर्नुभएको छ । युवा परिचालन वर्ष–२०७६ अन्तर्गत ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापन र नियन्त्रणका लागि पद्धति बसाल्ने काम भइरहेको बताउनुभयो ।

ट्राफिक प्रहरीले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गर्दै उहाँले धेरै सुधारका काम भएकाले पहिलेका जस्तो विकराल अवस्था नरहेको जिकिर गर्नुभयो ।

उहाँले सरकारको सहयोगमा केही ट्राफिक लाइट मर्मत भएर सुधार भएको स्मरण गराउँदै भन्नुभयो, ‘नेपाली इञ्जिनियरले पनि ट्राफिक लाइट मर्मत गर्न सक्छन् भन्ने पनि प्रमाणित भइसकेको छ ।’

महानिरीक्षक खनालले सडकमा दिनरात खटिने ट्राफिक प्रहरीको दर्दनाक अवस्था देखेर भत्ताको व्यवस्था मिलाइएपछि सडकमा काम गर्न जाँदा जवान उत्साहित भएको बताउनुभयो ।

उहाँले ठमेल क्षेत्रमा जाँदा अहिले राहतको अनुभूति हुने बताउँदै भन्नुभयो, ‘पशुपतिको अवस्था पनि सुधारिएको छ । भित्री सडकमा सवारीसाधन प्रवेश निषेध गर्दा तीर्थालुलाई सहज भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?