समृद्ध नेपालका लागि बैज्ञानिक खोजमा जोड दिन सरकारसँग आग्रह

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई हासिल हुने गरी बैज्ञानिक खोज तथा अनुसन्धानका माध्यामबाट प्राप्त ज्ञान तथा नविनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुने गरी प्रतिभा विकास, पहिचान र उजागर हुने गरी राज्यका सबै निकायको ध्यान पुग्ने विश्वास पनि व्यक्त गर्नु भयो । आईतबार काठमाडौंमा एक कार्यक्रममा वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुईतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मान गर्दै उहाँले सरकारले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा प्रोत्साहन हुने गरी राष्ट्रिय पुररस्कारहरु स्थापना गर्दै गएकोमा खुसी पनि व्यक्त गर्नु भयो । राष्ट्रपति भण्डारीले नेपाल परापूर्व कालदेखिनै खोज, अनुसन्धानको थलोको रुपमा रहेको स्मरण गराउँदै त्यस्ता खालको ज्ञान र विज्ञानको विकास गर्न सम्वद्ध निकायहरु उत्तिकै अग्रसर हुनुपर्नेमा पनि जोड दिनु भयो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले खोज तथा अनुसन्धानको क्षेत्रको विकासका लागि प्रोत्साहन गर्न सरकारले सो पुरस्कारको पनि व्यवस्था गरेको बताउनु भयो । उहाँले सरकारले कृषि क्षेत्रको विकासका लागि पनि वैज्ञानिक अध्ययन र अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिएको पनि स्मरण गराउनु भयो ।

आँखाको अनुसन्धानमा अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाउनु भएका वरिष्ठ चिकित्सक रुईतलाई ५ लाख नगदसहित सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले युवा वैज्ञानिकद्धय रति मियाँ र विकल्प ढुंगानालाई पनि जनही नगद २ लाख ५० हजारसहितको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहायता’ पुरस्कार प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?