गुडिरहेको जिपमा भीरबाट खसेको ढुंगाले लागेपछि …

काठमाडौं । म्याग्दीमा गुडिरहेको जिपमा भीरबाट खसेको ढुंगा लाग्दा तीनजना घाइते भएका छन् ।
बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-३ घुमाउने तालमा आइतबार गुडिरहेको जिपमा भीरबाट खसेको ढुंगा लागेर तीनजना घाइते भएका हुन् । जोमसोमदेखि बेनी आउँदै गरेको ग १ ज ७०६२ नम्बरको जिपमा खसेको ढुंगाले लागेर रुपन्देहीको देवदह नगरपालिका-५ का ७१ वर्षीय यामबहादुर विक, उनकी श्रीमती ६३ वर्षीया गंगी विक र बागलुंग नगरपालिका-३ का मनबहादुर थापा घाइते भएका छन् ।

घुमाउने ताल नजिकैको हिलो जमेको सडकमा गाडी पार गराउने क्रममा भीरबाट एक्‍कासी ढुंगा खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?