काठमाडौंमा २ दिन बिराएर पानी वितरण !

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न ठाउँहरुमा २ दिन बिराएर वितरण गर्न थालेको छ ।
केयुकेएलले महांकाल, महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी २ दिन बिराएर वितरण गर्न थालेको हो । पहिले ५–६ दिन बिराएर पानी वितरण हुन्थ्यो ।

खानेपानी मन्त्री बिना मगरको निर्देशनमा केयुकेएलले काठमाडौंका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ ।
वर्षातको समयमा बाग्मतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयुकेएलका कम्पनी सचिव मिलन शाक्यले जानकारी दिनुभयो ।

केयुकेएलको अनुसार पुरानै वितरण लाइनबाट पानीको आपूर्ति भईरहेको छ । पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले नजिकका केयुकेएलका शाखा कार्यालयहरुमा खबर गर्न समेत केयुकेएलले सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?