सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिहरुद्वारा काठमाडौंको फोहोर फाल्न नदिने चेतावनी

काठमाडौं । सिसडोल र बन्चरेडाँडाका स्थानीय जनप्रतिनिधिहरुले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन ।

धुनिबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामा र ककनी गाउँपालिका, वडा नम्बर २ का वडाध्यक्ष केदार पौडेलले स्थानीय जनतासँग गरिएका कुनै पनि सहमति हालसम्म कार्यान्वयनमा नआएको भन्दै काठमाडौंको फोहोर सिसडोल र बञ्चरेडाँडामा व्यवस्थापन नगर्न नदिने चेतावनी दिएका हुन । धुनिबेसी नगरपालिकाका मेयर आचार्यले सरकार र काठमाडौं महानगरपालिकाले स्थानीयको समस्या समाधान गर्न पटकपटक गरिएको आग्रहलाई बेवास्ता गरेकोभन्दै आपत्ति पनि जनाउनु भयो । ‘बञ्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिन सकिदैन,’ मेयर आचार्यको चेतावनी थियो,‘स्थानीय जनतासँग गरिएका कुनै पनि सहमति कार्यान्वयन नभएकाले जनप्रतिनिधिको रुपमा आफूले सो ठाउँमा काठमाडौंको फोहोर फाल्न दिन मिल्दैन् ।’ संघीय संसदको विकास तथा प्रविधि समितिले सो सम्बन्धमा सरोकारवाला निकायसँग आईतबार बोलाएको छलफलमा भाग लिँदै उहाँले आश्वासन दिने तर कामै नगर्ने सरकारले स्थानीय जनतालाई पटकपटक झुक्याएको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो ।

बैठकमा ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलका जनतामाथि काठमाडौंले अन्याय, अत्याचार गरेको उल्लेख गर्दै अव त्यहाँ फोहोर हाल्न नदिने चेतावनी दिनु भयो । २ वर्षका लागि फोहोर व्यवस्था गर्ने भनिएको १४ वर्ष बितेको अतित सम्झदै उहाँले त्यहाँ फोहोर फाल्न दिने अवस्था नरहेको बताउनु भयो । स्थानीय जनता फोहोरकै कारण ठूल्ठूला रोगको शिकार हुने गरेपनि त्यसलाई निदान गर्न दिने भनिएको एम्बुलेन्स समेत सरकारले उपलब्ध गराउन नसकेको प्रमुख लामाको भनाई छ ।

ककनी वडा नम्बर २ का वडाध्यक्ष केदार पौडेलले स्थानीयको समस्या तत्काल समाधान गरिदिन संघीय संसदको विकास तथा प्रविधि समितिको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकार र काठमाडौं महानगरपालिकाले स्थानीय जनतालाई पटक पटक झुक्याएकाले उनीहरुले समस्या गरिदेलान भन्ने आशा नभएको पनि बताउनु भयो ।

यता, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने काठमाडौंको फोहोर व्यवस्थापनको काम राष्ट्रिय समस्या भएकाले यसको समाधानका लागि पनि राष्ट्रियस्तरकै छलफल हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सिसडोल र बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

यता, सरकारले पनि सिसडोल बन्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने प्रतिवद्ध रहेको जनाएको छ । सहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राईले सिसडोल र बञ्चरेडाँडाका स्थानीयको माग तत्काल सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीय तहलाई पनि अग्रसर हुन पनि आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?