एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गर्नुभएको छ ।
भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसिरहेका भारतीय नागरिकको सहभागीता रहेको सो कार्यक्रमलाई उहाँहरुले संयुक्त सम्बोधन गर्नुभएको समाचारमा जनाइएको छ ।
सो कार्यक्रम टेक्सस राज्यको ह्युन्स्टनमा आयोजना गरिएको थियो । त्यस कार्यक्रममा उहाँहरुलाई आयोजकले भव्य रुपमा स्वागत गरेका बताएको छ ।
समाचारमा जनाइएअनुसार उक्त कार्यक्रममा करिब ५० हजार मानिस सहभागी रहेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीलाई गरिएको सो स्वागत कार्यक्रम र उक्त कार्यक्रममा भएको बृहत उपस्थितिबाट पनि यसलाई एक ऐतिहासिक कार्यक्रम भएको भनि टिप्पणी गरिएको छ ।
उक्त कार्यक्रममा बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पको र अमेरिकी राष्ट्रपति ट्रम्पले बोल्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गर्नुभएको थियो । प्रधानमन्त्री मोदीले सम्बोधनमा आफूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कैयौँ पटक भेट गरेको र उहाँमा आफूले आत्मीयता पाएको भनी टिप्पणी गर्नुभएको थियो ।
त्यस क्रममा प्रधानमन्त्री मोदीले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतीय निर्वाचनबाट फेरि पनि ट्रम्पको सरकार बन्ने धारणा राख्नुभएको थियो ।
पछि राष्ट्रपति ट्रम्पले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हालैको लोकसभा निर्वाचनमा विजयी भएर भारतको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिनुभयो ।
राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीको प्रसंशा गर्नुभयो । उहाँले प्रधानमन्त्री मोदीका कारण भारतमा गरिबीबाट मुक्तिका क्षेत्रमा योगदान पुगेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया