मानसिक रोगमुक्त प्रदेश बनाउनुपर्छ : सभामुख श्रेष्ठ

काठमाडौं । प्रदेश नं.३ का सभामुख सानुकुमार श्रेष्ठले यो प्रदेशलाई मानसिक रोगमुक्त प्रदेश बनाउन पहल गरिने बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं.३ कार्यालय, सानेपाद्वारा आज हेटौँडामा आयोजित ‘मानसिक स्वास्थ्यको वर्तमान अवस्था’ विषयक अन्तरक्रियामा उहाँले यौन, धन, पद, प्रतिष्ठा र महत्वाकाङ्क्षा आदिको वास्तविकता नबुझेर तथा परिस्थितिजन्य कारणले मानिस मानसिक रोगी हुने गरेको बताउनुभयो ।

सभामुख श्रेष्ठले मानसिक रुपमा स्वस्थ हुन आनीबानी परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै यो प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउने सरकारको अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले वृद्धाश्रम, बालआश्रम तथा अनाथाश्रमको सङ्ख्या घटाउनुपर्ने बताउँदै केही जिल्ला समेटेर एउटा मात्र आश्रम स्थापना गरी आर्थिक, सामाजिक र मानसिक व्यवस्थापनमा सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

उहाँले विकास प्रक्रिया बढ्दै जाँदा मानसिक समस्यामा पनि वृद्धि हुँदै जाने भन्दै नेपालमा अन्य देशको तुलनामा मानसिक रोगको अस्पताल ओझेलमा परेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री युवराज दुलालले मानसिक सन्तुलन गुमाएका व्यक्तिको व्यवस्थापन सरकारले गर्नुपर्ने बताउँदै सबै किसिमका उपचार हुने एकीकृत स्वास्थ्य सेवा क्लिनिक शुरु गर्ने योजनामा प्रदेश सरकार रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल, मुनु सिग्देल, रामलाल महतो लगायतले मानसिक रोग न्यूनीकरणमा सरकारले खेल्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराई, निर्देशक यज्ञप्रसाद अधिकारी, हेटौँडा अस्पतालका मानसिक स्वास्थ्य मनोसामाजिक परामर्शदाता डाक्टर सागर काफ्ले लगायतले मानसिक रोग र यसको न्यूनीकरणका लागि परिवार, समाज र सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?