नेपालकै पहिलो नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउन सम्झौता, ४२ महिनामा काम सकिने

काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसेसम्म सुरुङ मार्ग बनाउन सम्झौता भएको छ । सोमबार २.६ किलोमिटर लामो नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउन जापानी कम्पनी हाज्मा–आन्द्रो जेभी र सरकारबीच सहमति भएको हो ।

निर्माण सुरू भएको ४२ महिनामा सुरुङमार्गको सम्पूर्ण काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सहमतिमा उल्लेख छ । यो सुरुङमार्ग नेपालकै पहिलो सुरुङमार्ग हुनेछ ।

हाज्मा–आन्द्रो जेभीका बिजनेस म्यानेजर र नेपालका तर्फबाट सडक विभाग अन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले हस्ताक्षर गर्नुभएको हो ।

आयोजना निमार्णको लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक सहयोग हुनेछ । यसअघि नै जाइकासँग १६ अर्ब ऋण सम्झौता भइसकेको छ । ‘दुई पक्षबीच आज सुरुङमार्ग निर्माणको सम्झौता भएको हो,’ नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना प्रमुख श्याम खरेलले भन्नुभयो, ‘कम्पनीले नोभेम्बर अन्तिमदेखि काम थाल्ने छ र ४२ महिनामा सम्पन्न गरी नेपाल सरकालाई हस्तारन्तरण गर्ने सम्झौतामा उल्लेख छ ।’

धादिङतर्फको जग्गा विवादका कारण निर्माण प्रकृयापछि धकेलिँदै आएको थियो । त्यहाँका स्थानीयले काठमाडौंतर्फकै मूल्यमा जग्गाको मुआब्जा माग गरेपछि जग्गा सम्झौता हुन सकेको थिएन । तर अहिले भने धादिङतर्फको मुआब्जाको विवाद समेत मिलिसकेको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?