१ हजार घुस लिएको आरोप लागेका एक सरकारी कर्मचारीद्वारा आत्महत्या

भक्तपुर । एक हजार घुस लिएको अभियोग लागेका एक कर्मचारीले आत्महत्या गरेका छन् । एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर धरौटीमा रिहा भएका एक सरकारी कर्मचारीले आत्महत्या गरेका हुन् ।

अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गएको भदौ ३१ गते धरौटीमा रिहा भएको एक सातामै सुनसरी इनरुवा नगरपालिका–५, घर भई हाल भक्तपुरको सूर्य्विनायक नगरपालिका–५, कटुञ्जेमा बस्दै आएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

कलंकी मालपोत कार्यालयमा खरदारका रुपमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको थियो । त्यसपछि अख्तियारले हाजिर हुन कार्यालयमा बोलाइ कार्यालयबाटै गएको साउन २२ गते पक्राउ गरी थुनामा राखेको थियो ।

२१ वर्षदेखि सरकारी सेवामा कार्यरत सुवेदीले सेवाग्राहीले खाजा खान दिएको एक हजार रुपैयाँ लिँदा ज्यानै गुमाउनु परेको अस्पताल आएका आफन्तले बताएका छन् । अख्तियारले तीन पटक बयान लिँदा मानसिक तनाव दिएको सुवेदीले परिवारलाई बताएको आफन्तले आरोप लगाएका छन् ।

गएको माघ महिनामा बाबुको निधन भएको परिवारमा सुवेदीले पनि आत्महत्या गरेपछि परिवारमा एकै वर्षमा दुई वटा शोक परेको छ । सुवेदीको श्रमती, १४ वर्षका एक छोरा, एक छोरी र वृद्ध आमा छन् । सुवेदीको आजै दाहसंस्कार गरिने परिवारले बताएका छन् ।

आफन्तले भने लाखौँ, करोडौँ घुस खानेहरुलाई अख्तियारले केही गर्न नसकेको तर एक हजार रुपैयाँ खाजा खर्च लिनेलाई आत्महत्या गर्न बाध्य पार्ने गरी अनुसन्धान गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?