भण्डारीको ‘सुनको पहाड’ सार्वजनिक

काठमाडौं । आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ । काठमाण्डौंमा आयोजित एक समारोहमा पूर्वमन्त्री राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले उपन्यास संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा नेकपा नेता एवं पूर्वमन्त्री राम कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडालाई प्रस्तुत गरेको बताउनुभयो । उहाँले उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको भाषाशैली भएको बताउँदै उपन्यासमा प्रौढ र खारिएको भाषा आएको बताउनुभयो ।

त्यसैगरी लेखक डा. अर्चना थापाले अहिलेको समयमा वेवास्तामा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखनमा मिहीन ढंगले उतारेको बताउनुभयो । समकालीन नेपाली समाजको यथार्थलाई दन्त्यकथा र यथार्थको मिश्रणबाट प्रष्ट्याउन उपन्यास सफल भएको उहाँको भनाई थियो । पुस्तक फिनिक्स बुक्सले प्रकाशन गरेको हो । ३ सय पृष्ठको उपन्यासको मूल्य ३ सय ९५ रुपैयाँ रहेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?