अवैध शुल्क फिर्ता गर्नुपर्नेभएपछि निजी मेडिकल कलेजको घुर्की – एमबिबिएस र बिडिएसमा भर्ना गर्दैनौं

काठमाडौं । निजी मेडिकल कलेजहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले शैक्षिक सत्र २०७६/०७७ मा एमबिबिएस र बिडिएसमा विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएको दिएको छ । बुधबार विज्ञप्ति जारी गर्दै एसोसिएसनले सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने अभिप्रायले कलेजहरुको सिट संख्या, शुल्क निर्धारण, विदेशी विद्यार्थीको भर्ना सम्बन्धी स्पष्ट नीति नभएको भन्दै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएको हो ।

निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेकोभन्दा बढी अवैध शुल्क असुली विद्यार्थी भर्ना गरिएको भन्दै केही महिनादेखि विद्यार्थीहरु आन्दोलनमा छन् । अवैध रुपमा बढी लिएको रकम फिर्ता गर्न सरकारले कलेजहरुलाई निर्देशन दिएपछि एसोसिएसनले विद्यार्थी भर्ना गर्ने चेतावनी सहितको विज्ञप्ति जारी गरेको हो ।

विद्यार्थीहरुले संघर्ष समिति गठन गरी गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, किष्ट मेडिकल कलेज लगायतले बढी शुल्क असुली गरेको, परीक्षामा उपस्थिति हुन रोकेको, मानसिक यातना दिएको भन्दै अवैध रकम फिर्ता गर्न माग गरेका थिए ।

‘प्रवेश परीक्षाको प्ररीक्षाफल समेत प्रकाशित गरिसकेको र भर्ना प्रक्रिया सुरु गर्न खोजिएको सन्दर्भमा कलेजहरुले सिट संख्या, शुल्क निर्धारण, विदेशी विद्यार्थीको भर्ना सम्बन्धी स्पष्ट नीति तथा संघीय संसद, प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुको शुल्क लगायत विविध विषयका सन्दर्भमा दिइएको निर्देशनलाई पालना नगरी यथास्थितिमा कलेजहरुका तर्फबाट विद्यार्थी भर्ना गर्न असमर्थता व्यक्त गर्दछौँ’  विज्ञप्तिमा भनिएको छ ।

भर्ना नगर्ने सम्बन्धमा प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको एसोसिएसनले जायज मागको यथोचित सम्बोधन नभए अन्य सशक्त कदम चाल्न मेडिकल कलेजहरु बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

मेडिकल कलेजहरुको पूर्वाधार १५० एमबिबिएस तथा बिडिएस विद्यार्थीहरुको अध्ययन अध्यापन लागि भइसकेको हुँदा विनाकारण सिट संख्या १०० र ५० मा सीमित गरिएको र सिट संख्या पूर्वनिर्धारित एमबिबिएस १५० र बिडिएस ७५ नै कायम गर्न एसोसिएसनले माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?