मुलुकको व्यापारमा केही सुधार, यस्ताे छ तथ्याङ्क

काठमाडौं । नेपालमा धेरै पहिलेदेखी निर्यात भन्दा आयात बढि भइ ठुलो मात्रामा व्यापार घाटा हुनेगरेको थियो । तर चालु आर्थिक वर्षको पहिलो महिनामा भने व्यापार घाटा केही मात्रामा कम भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको साउनमा व्यापार ५९.१ प्रतिशतले बढेको थियो। तर साउन महिनामा व्यापार घाटा १३।९ प्रतिशतले घटेको पाइएको छ ।

साउनमा कुल निर्यात २७.७ प्रतिशतले वृद्धि भएको छ। जवकि गत वर्षको साउनमा जम्मा ३.२ प्रतिशतले मात्रै निर्यात बढेको हो। एक महिनामा ८ अर्ब ८४ करोड रुपैयाँको बस्तु निर्यात भएको छ।

निर्यात बढ्नु र आयात घट्नुले व्यापार घाटामा राहत मिलेको हो। साउनमा मुलुकको व्यापार घाटा ९७ अर्ब ८९ करोड कायम भएको छ।

नेपालले अलैंची, दन्त मन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढाएको छ भने जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ।

यसअवधिमा चीनतर्फ १३२.९ र भारततर्फ ५१.८ प्रतिशतले निर्यात वृद्धि भएको हो भने अन्य मुलुकतर्फको निर्यातमा ९।२ प्रतिशतले कमी आएको छ।

मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ। यस्तै, चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ।

साउनमा कुल आयात भने ११.५ प्रतिशतले घटेको छ। जवकि गत वर्षको साउनमा यस्तो आयात ५४.३ प्रतिशतले बढेको थियो। एक महिनामा कुल १ खर्ब ६ अर्ब ७३ करोड रुपैयाँको बस्तु आयात भएको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, तयारी पोशाक, सोलार प्यानल, अन्य मेसिनरी तथा पाटपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ। सबैभन्दा बढी रकमको आयात हुँदै आएको पेट्रोलियम पदार्थको आयात ७.२ प्रतिशतले घटेको छ।

नेपालबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तरलाई शोधानान्तर स्थितिले जनाउँछ । व्यापार घाटामा राहत मिलेसँगै भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति समेत बचतमा आएको छ।

तथ्यांकअनुसार साउन महिनामा ६ अर्ब ५ करोडले शोधनान्तर स्थिति बचतमा रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा शोधानान्तर स्थिति २४ अर्ब ७७ करोडले घाटामा थियो।

अघिल्लो वर्षको साउन महिनामा यस्तो घाटा २५ अर्ब १६ करोड रहेको थियो । यस्तै, यो वर्षको साउनमा चालु खाता भने ९ अर्ब ३७ करोडले घाटामा रहेको तथ्याङ्कले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?