एकदिवसीय वरियतामा नेपाल एक स्थान झर्‍यो, टी–ट्वान्टीमा के भयो ?

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले बुधबार सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरियतामा नेपाल एक स्थान झरेको हो । एक स्थान तल झरेको नेपाल १७ औं स्थानमा पुगेको छ । अघिल्लो वरियतामा नेपाल १६ औं स्थानमा रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले ८ खेलबाट १५२ जोडेर १९ रेटीङ पाएको छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा रहेका छन् ।

एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् । छैठौँ स्थानमा पाकिस्तान, सातौँमा बंगलादेश, आठौँमा श्रीलंका, नवौँमा वेस्ट इन्डिज, १० औँमा अफगानिस्तान, ११ औँमा आयरल्याण्ड, १२ औँमा जिम्बावे, १३ औँमा नेदरल्याण्ड्स, १४ औँमा स्कटल्याण्ड र १५ औँ नामिबिया र १६ औँमा ओमन रहेका छन् ।

आईसीसीको टी–ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा रहेको छ ।

जसमा नेपालको १४ खेलमा २ हजार ८ सय १८ अंकका साथ २०१ रेटीङ रहेको छ ।

टी–ट्वान्टी वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?