अपराधमा मुछिँदै मनी चेन्जर

काठमाडौं – सिस्टम ह्याक गरी एटीएम बुथबाट झन्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेलीसँगै दुई नेपालीलाई नियन्त्रणमा लियो ।

भदौ १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ पक्राउ परेका हुन् ।

यो घटनापछि देशभरका मनी चेन्जर र तिनको कमजोर नियमनको पाटो सतहमा आयो । हुन्डी, अवैध सुन र डलर तस्करीका घटनामा बेलाबखत तानिने गरेका मनी चेन्जरहरू यसपटक बैंकिङ कसुर मुद्दामा जोडिन पुगे ।

एटीएम ह्याक गरेर निकालिएको मध्ये २९ लाख ९९ हजार रुपैयाँ यी दुई मनी एक्सचेन्जबाट साटिएको थियो । ह्याकरहरू बसेको हात्तीसारको होटलमा प्रहरी परिसर काठमाडौंको टोली पुगेलगत्तै भागेका चार चिनियाँ ट्याक्सी रिजर्र्भ गरेर सोझै यी दुई कम्पनीमा पुगेका थिए । उनीहरूले आफूसँग रहेको नेपाली रुपैयाँ साट्नुपर्ने बताएपछि दुवै चेन्जर सजिलै तयार भएका थिए ।

प्रहरीका अनुसार रकमको स्रोत खोज्नुपर्ने र रकम साट्नेको परिचय राख्नैपर्ने प्रावधान उल्लंघन गरेर उनीहरू नाफाको लोभमा परेका थिए ।
नेपाल राष्ट्र बैंक मनी चेन्जर विनियमावली, २०७६ ले ‘मनी चेन्जर’ भन्नाले विदेशी विनिमय कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त व्यक्ति, फर्म, कम्पनी वा संस्था भनेर परिभाषित गरिएको छ । यस्ता संस्था आर्थिक अपराधका घटनामा जोडिएको यो नयाँ घटना भने होइन । नेपालमा जब विदेशी विनिमय अपचलनको मुद्दा आउँछ, त्यतिबेला प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मनी चेन्जर कम्पनी मुछिएका छन् । पछिल्लो घटना पनि यसैको निरन्तरता भएको जानकार बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?