काठमाडौं- नेताहरूको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरूको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरूको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको शपथ रोकिएको छ ।
प्रदेश २ मा पूर्वएमालेअन्तर्गत केपी शर्मा ओली र माधव नेपाल तथा पूर्वमाओवादी समूहका नेताहरूबीच टकराव देखिएको छ । प्रदेश २ का इन्चार्ज, अध्यक्ष, सचिवलगायतले पार्टी वरिष्ठ नेता माधव नेपाल र उद्योग मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य मातृका यादवका कारण प्रदेशको समस्या चुिलएको भन्दै उनीहरूलाई कारबाहीको माग गर्दै मंगलबार प्रतिवेदन बुझाएका छन् । एक साताअघि नेपाल र पूर्वमाओवादी पक्षका १६ जना केन्द्रीय सदस्यले प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साहलगायतलाई पार्टीबाटै निष्कासन गर्नुपर्ने मागसहितको पत्र महासचिव विष्णु पौडेललाई बुझाएका थिए ।
विवाद चुलिएपछि पार्टी अध्यक्षहरू ओली, पुष्पकमल दाहाल र महासचिव पौडेलले दुवै पक्षलाई बोलाएर छलफल गरे पनि कुरा मिलेको छैन । बुधबार आठवटै जिल्लाका इन्चार्ज, सहइन्चार्जसित अध्यक्ष र महासचिवले छलफल गरेका थिए । सहइन्चार्ज विश्वनाथ साहका अनुसार अध्यक्षहरूले केन्द्रीय परिपत्रअनुसार प्रदेशको काम गर्न निर्देशन दिएका छन् । इन्चार्ज र सहइन्चार्जहरूले विधि र प्रक्रियाअनुसारै आफूहरू अघि बढ्ने बताए तर अध्यक्षहरूलाई उनीहरूले पार्टीको विधि र प्रक्रियाको आआफ्नै ढंगले व्याख्या गरेका छन् ।
प्रदेशका अलगअलग नेतृत्वले शीर्ष तहका छुट्टाछुट्टै नेताहरूसँगको निकटताको प्रभाव प्रदेशमा पनि देखाउन खोजेपछि विवाद बढेको एक नेताले बताए । जिल्ला सदस्य मनोनयन गर्दा प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवले जिल्ला कमिटी चयन गर्न बनेको कार्यदलले गरेको सिफारिस लत्याएको एकथरी समूहको आरोप छ ।
उक्त समूहको नेतृत्व पछिल्लोपटक प्रदेश कमिटीको सहइन्चार्ज बनेका केन्द्रीय सदस्य नागेन्द्र चौधरी र महेन्द्र पासवानले गरेका छन् । उनीहरूले पार्टीको विधान, केन्द्रीय कार्यालयले गत वैशाख ९ मा जारी गरेको परिपत्र र जिल्ला कमिटीका पदाधिकारीसहित सदस्यहरूको टुंगो लगाउन बनाएको कार्यदलको सिफारिसका आधारमा निर्णय हुनुपर्ने माग गरेका छन् । यस्तै प्रदेश तथा जिल्लाका कनिष्ठ नेताहरूले आफूखुसी गर्दै हिँडेको र नेतृत्वको निर्णय उल्लंघन गरेको आरोप नेकपा प्रदेश कमिटीका पदाधिकारीको छ । यो समूहको हर्ताकर्ता प्रदेश अध्यक्ष साह र सचिव सुमन प्याकुरेल छन् । प्रदेश २ का केन्द्रीय सदस्यहरू बाँडिएपछि नेकपा शीर्ष नेतृत्वकै लागि समस्या सुल्झाउने चुनौती बनेको छ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया