काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको विशिष्टीकृत भौगोलिक वनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको दर घटेको बताउनुभएको छ ।
क्यानाडाको मन्ट्रियलमा जारी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४० औँ महासभालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पछिल्लो समय नेपालले अपनाएको हवाई सुरक्षा सतर्कता, विमानस्थलको सुधार र मौसमी अवस्थालाई ध्यान दिएका कारण हवाई दुर्घटनामा कमी आएको उल्लेख गर्नुभयो ।
हवाई क्षेत्रमा आएका नयाँ प्राविधिक आयामको भरपुर उपयोग गर्दै उड्डयन सुरक्षालाई चुस्त र दुरुस्त बनाउन थप हवाई सुरक्षा मापदण्ड कायम गरिएको मन्त्री भट्टराईको भनाइ थियो । उहाँले युरोपियन कमिसनको हवाई सुरक्षा सूचीबाट उन्मुक्ति पाउन युरोपियन सेफ्टी एजेन्सीसँग हातेमालो र सहकार्य गरिरहेको बताउनुभयो ।
पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन प्राथमिकता प्राप्त उद्योग भएकाले हवाई सुरक्षालाई उच्चतम कार्य योजनामा राख्दै सम्पर्क विस्तार गर्ने, मौजुदा विमानस्थलको स्तरोन्नति र नयाँ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण, सञ्चालन र व्यवस्थापनका लागि सरकारले नयाँ रणनीतिका साथ सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।
उहाँले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सो अवसरमा जानकारी गराउँदै सहभागिताका लागि सबैलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
आइकाओ मुख्यालय मन्ट्रियलमा भएको महासभामा १९३ देशका प्रतिनिधि र एक हजारभन्दा बढी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । यही असोज सात गते अर्थात् (सेप्टेम्बर २४० देखि शुरु भएको महासभा आगामी असोज १७ ९अक्टोबर ४ सम्म) चल्नेछ ।
महासभामा पर्यटनमन्त्री भट्टराई, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गाना, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत सहभागी हुनुहुन्छ । महासभाको दौरानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग हवाई सम्झौता हुनेछ ।
त्यसैगरी अष्ट्रेलियासँग हवाईवार्ता हुने जनाइएको छ । नेपालले अष्ट्रेलियाको सिड्नी गन्तव्य सिधा उडानका लागि पहल गर्दै आएको छ । पर्यटनमन्त्री भट्टराईले हालै एक कार्यक्रममा अष्ट्रेलियासँग हवाई सम्झौताका लागि कुराकानी हुने बताउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया