बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट प्रक्राउ

काठमाडौं । कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ ।

सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ । पक्राउपर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाडौँ ल्याएर घटनाको अनुसन्धान गरिने उहाँले बताउनुभयो । उनको बैँक खातामा ६५ लाख जम्मा भएपछि उनले निकाल्न भ्याएका थिएनन् ।

यसअघि महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने नेपाली एजेण्ट गरी १२ जनालाई आइतबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी  चार करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख निकालेका थिए ।

त्यसमध्ये १० लाख हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा लैजान नपाएको प्रहरीले जनाएको छ । प्रहरीले ६० लाख बरामद गरिसकेको छ । यसका मुख्य योजनाकार अफ्रिकीमूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका थिए । उनले पाँच अर्ब निकाल्ने योजना बनाएको खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?