तनहुँ,२४ पुस- तनहुँको ब्यास नगरपालिका–७ स्थित सेरामा शनिबार राति खुकुरी हानाहान हुँदा दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका घैँटे भनिने २४ वर्षीय रोशन गुरुङ र २१ वर्षीय सुवास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए सुवासले रोशनको साथीलाई मोटरसाइकलमा लिफ्ट नदिएको विषयमा विवाद भएपछि खुकुरी हानाहान भएको जानकारी प्रनाउ मल्लले दिए । केही बेरपछि रोशनले खुकुरी निकालेर सुवासलाई प्रहार गरेको र सुवासले पनि रोशनकै खुकुरी खोसेर उसैमाथि हानेपछि दुवैजना गम्भीर घाइते भएका हुन् । सुवास र रोशन दुवैको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । दुवै जनालाई दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका लागि लगिए पनि सो अस्पतालले सामान्य उपचार गरी थप उपचारका लागि मेट्रो सिटी अस्पताल, पोखरा रिफर गरेको थियो एउटै अस्पतालमा उपचार हुँदा फेरि झडप हुने देखेर रोशनको सोही अस्पताल र सुवासलाई मणिपाल शिक्षण अस्पतालमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया