काठमाडौं । सरकारले यही असोज १३ गते ‘नेपाललाई खुला दिशामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ ।
खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज १३ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी गराएको हो ।
सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवकै रुपमा मुलुकलाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिएको खानेपानी मन्त्री विना मगरले जानकारी दिनुभयो । उहाँले सो अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्वद्ध पक्ष र सर्वसाधारणलाई पनि अपिल गर्नु भयो ।
सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो । यो अभियान स्कुल तह, जिल्ला तहहुँदै अघि बढाइएको पनि मन्त्री मगरले बताउनुभयो ।
अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिशामुक्त घोषणा गर्न सक्ने अवस्थामा आई पुगिएको पनि खानेपानी मन्त्रालयको भनाई छ । नेपालमा खुला दिशामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानलाई तीव्रता दिने सरकारको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया