राष्ट्र बैंकबाट १५ मिनेटमै नोट साट्न सकिने : शारिरीक रुपमा अशक्त र जेष्ठ नागरिकलाइ लाइन बस्नु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट दशैंका लागि नयाँ नोट वितरण आजबाट शुरु गरेको छ । अघिल्ला वर्षहरुमा पैसा साट्नका लागी एकदम भिडभाड हुने गरेको थियो । तर अहिले भने त्यस्तो भिडभाड नरहेको पैसा साट्न आएका सर्वसाधारणको भनाइ रहेको छ । दशैंका लागी राष्ट्र बैंकले काठमाडौं उपत्यका लगाएत देशका बिभिन्न ठाँउहरुबाट रकम साटने सुबिधा उपलब्ध गराएको छ ।

अघिल्ला वर्षहरुमा ६ घन्टासम्म लाइन बसेर पैसा साट्ने गरेका सर्वसाधारणले सहज पाउने भएपछि हर्षीत देखिएका छन् । आएको १५ मिनेटमै रकम साट्न सकिएको पनि सर्वसाधारणले बताउनुभयो ।  त्यस्तै ,शारिरीक अशक्त एवं फरक क्षमता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागी लाइन बस्नु नपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सटही सुविधा असोज १० देखि १७ गतेसम्म उपलब्ध हुने जानकारी दिनुभयो । शुक्रबार दिउँसो काउन्टर बन्द गर्ने बेलासम्म ८ सय ५७ जनाले मात्रै नयाँ नोट सटही गरेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्ला वर्षहरूमा राष्ट्र बैंकले थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । यसपटक मुद्रा व्यवस्थापन विभाग नै बालुवाटारमा सरेकाले यहीँबाट सटही गरिएको छ ।निरौलाका अनुसार उपत्यकाभित्र विभिन्न बैंकमार्फत ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । उपत्यका बाहिर भने राष्ट्र बैंकका कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?