इलाम–डेङ्गुका कारण आज इलाममा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरो आएर इलाम अस्पतालमा भर्ना हुनु भएका उहाँ कलेजो र मिर्गौलामा समस्या भएको भन्दै यही असोज ४ गते नोबेल अस्पतालमा पठाइएको थियो । जिल्ला अस्पताल इलाममा डेङ्गुको किट अभाव भएको कारण गणेशको अस्पतालले समयमा रोग पहिचान नगरिदिएकाले मृत्यु भएको परिवारको भनाइ रहेको छ । यता अस्पतालले इलाम नगरपालिकासँग पहिले नै डेङ्गुको किट माग गरे पनि नगरपालिकाले तदारुकाता नदेखाएको जनाइएको छ ।
इलाम अस्पतालमा उपचार गराउन आएकामध्ये पाँच जनालाई डेङ्गु देखिएपछि बिरामीको सोहीअनुसार उपचार भइरहेको छ । इलाममा डेङ्गु फेला परेको यो नै पहिलो पटक हो । जिल्लामा भरपर्दो उपचार गर्ने ठाउँ नहुँदा सामान्य बिरामी पनि उपचार गराउन झापा र भारतका विभिन्न स्थानमा जाने गरेकाले पनि डेङ्गु फेला परेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया