युएईमा सवारी दुर्घटनामा परि ६ नेपालीको मृत्यु

काठमाडौं । युएईको दुबईमा सवारी दुर्घटनामा परि ६ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ ।

स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो । मृत्यु हुने नेपालीहरुमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको नेपाली दूतावासले जनाएको छ।

उनीहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी छ। दानबहादुरको परिवारलाई भने कम्पनीले जानकारी गराएको र अरुको थप विवरण संकलन गरेर जानकारी गराइने दूतावासले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।घाइतेहरुको स्थानीय रसिद अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?