जब पसलमा ग्राहक बनेर आउनेले नै हिरु केसीको हत्या गरे

काठमाडौँ । नेपाल प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१२ कपन बस्ने ५५ वर्षीया कमला भन्ने हिरु केसीको हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले भदौ ३१ गते राति कपनस्थित तेञ्जिङचोक नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले विभिन्न समयमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा मकवानपुरका सोमलाल थिङ, ओखलढुङ्गाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्की र रौतहटका सविना तामाङ रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले नशालु पदार्थ सेवन गराएर सुनको गहना लुटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।
मृतक कार्कीले विगत केही वर्षदेखि खाजा, किराना पसलसँगै रक्सी पसल सञ्चालन गरेको र हत्यामा संलग्न भएका व्यक्तिहरु ग्राहक बनेर उक्त पसलमा आउने गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न व्यक्तिहरुले मृतक कार्कीको चारवटा सुनको औँठी र रु ४५ हजार नगद लुटेका थिए । हत्यामा संलग्न राजकुमार थापामगर भने अझै फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?