दमौलीमा कपडा बैंक स्थापना

काठमाडौं । लायन्स क्लब अफ तनहुँले दमौलीमा कपडा बैंक सञ्चालन गरेको छ । आर्थिकरूपमा विपन्न समुदायलाई लक्षित गरी क्लबले कपडा बैंक सञ्चालन गरेको हो । विपन्न समुदायका लागि निःशुल्क कपडा वितरण गर्ने उद्देश्यसहित कपडा बैंक स्थापना गरिएको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार चाडपर्वका समयमा विपन्न समुदायका परिवारले रकम अभावले कपडा किन्न नसक्ने भएकाले कपडा बैंकबाट निःशुल्करूपमा कपडा उपलब्ध गराइनेछ । ‘हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस्’ भन्ने मूलमन्त्रसहित स्थापना गरिएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । बैंकमा प्रयोग भएका कपडा राखिए पनि उक्त कपडा पुनःप्रयोगका लागि योग्य रहेका श्रेष्ठले जानकारी दिनुभयो ।

“असहाय, गरीब तथा विपन्न व्यक्ति तथा समुदायले बैंकमा आएर छानेर कपडा लैजान सक्छन्”, श्रेष्ठले भन्नुभयो । बैंक स्थापनाका अवसरमा बन्दीपुर गाउँपालिका वडा नं १, २ र ३ मा बसोबास गर्ने सीमान्तकृत २५ चेपाङलाई कपडा वितरण गरिएको क्लबले जनाएको छ । कपडा पाएपछि आर्थिकरूपमा विपन्न चेपाङ समुदाय खुशी भएका छन् ।

वडा नं ३ का कृष्णबहादुर चेपाङले बैंक आफूहरुका लागि बरदान भएको बताउनुभयो । “चाडपर्वमा नयाँ कपडा किनेर लगाउन सक्ने हैसियत छैन”, उहाँले भन्नुभयो, “बैंकबाट नयाँ जस्तै कपडा पायौँ ।” कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएका छन् । उक्त कपडा बैंक सोमबार, बिहीबार र शनिबार खुला रहने क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?