काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा हुने अपराध नियन्त्रण गरेमात्र आम नागरिकले प्रहरी सङ्गठनप्रति भरोसा र विश्वास गर्ने बताउनुभएको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको नवनिर्मित भवनको आज छुट्टाछुटै उद्घाटन गर्दै उहाँले कानून कार्यान्वयन गरी अपराधीलाई तत्काल पक्राउ गर्नसके सबैले नेपाल प्रहरीप्रति भरोसा गर्ने बताउनुभयो । “प्रविधिले मात्र अपराध नियन्त्रण हुन सक्दैन, प्रहरी पनि चनाखो हुनुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पूरा गर्न नेपाल प्रहरी दृढसङ्कल्पका साथ लागि परेको छ ।”
महानिरीक्षक खनालले समाजमा हुने अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रममा २६ हजार नागरिक जोडिसकेका छन् ।
उहाँले सरकारले राखेको नीतिअनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई नेपाल प्रहरीले अरु नागरिकभन्दा छिटोे, छरितोे सेवा प्रदान गरेको बताउँदै भूकम्पपछि त्रिपालमुनि बसेर पनि नेपाल प्रहरीले नागरिकको सुरक्षामा खटिएको स्मरण गर्नुभयो । महानिरीक्षक खनालले सुन्दर भवनबाट सुन्दर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।
नेपाली चलचित्र जगत्का महानायक राजेश हमालले प्रहरी र नागरिक एक सिक्काका दुई पाटा भएको बताउँदै प्रहरीमा बढुवा र चलचित्रमा इन्सपेक्टरको भूमिका महत्वपूर्ण हुने गरेको उल्लेख गर्नुभयो ।
काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाल, काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दीपक केसीलगायतले पछिल्लो समय नेपाल प्रहरीले अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको बताउनुभयो ।
महानगरीय प्रहरी वृत्त लैनचौरको भवन एक वर्ष अगाडि निर्माण भए पनि जग्गा नेपाल प्रहरीको नाममा नामसारी नभएकाले उद्घाटन भने आज गरिएको हो । झण्डै रु आठ करोड लागतमा निर्माण भएको उक्त भवन ३१ कोठा र महिला, पुरुष र तेस्रोलिङ्गी समुदायलाई थुन्नका लागि छुट्टाछुट्टै थुनुवा कक्ष रहेको वृत्तका प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । सोही अवसरमा वृत्तको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज भने दुई महीना अगाडिमात्र सम्पन्न भएको हो । संयुक्त राष्ट्रसङ्घको (युएनओपिएस) परियोजनाअन्तर्गत सम्पन्न भएको उक्त वृत्त अन्डरग्राउण्ड पार्किङसहित पाँचतल्ले रहेको छ । १८ महीनामा सम्पन्न भएको उक्त भवन निर्माणका लागि रु ११ करोड लागेको वृत्तका प्रमुख उमेश लम्सालले बताउनुभयो ।
युएनओपिएस परियोजनाले नेपालका विभिन्न जिल्लामा ५६ वटा प्रहरी कार्यालय निर्माण गरिसकेको परियोजना देशीय निर्देशक चाल्र्स कलाननले जानकारी दिनुभयो । जसमध्ये २५ वटा भवन निर्माण गरिसकेको छ भने बाँकी भवन पनि निर्माणाधीन अवस्थामा रहेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले भवन निर्माणसँगै प्रहरी कर्मचारीको मनोबल वृद्धि हुने र उपत्यकाको शान्ति सुरक्षा थप मजबुद हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया