अब प्रहरी वृत्त महाराजगंज र लैनचौर अत्याधुनिक भवनमा

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार शान्ति सुरक्षाको उचित व्यवस्था गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ ।

मंगलबार अत्याधुनिक शैलीमा निर्माण गरिएको महानगरीय प्रहरी वृत्त महाराजगन्ज भवनको उद्घाटन गर्दै प्रहरीहरुले आफ्नो काम गर्ने शैलीमा सुधार गर्दै अघि बढनुको विकल्प नरहेको बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक खनालले प्रहरीले न्याय सम्पादनको कामलाई प्रभावकारी बनाउँदै लैजाने गरी प्रहरी भवन निर्माण कार्यलाई पनि अत्याधुनिक बनाउँदै लगिएको स्मरण पनि गर्नुभयो ।

अत्याधुनिक लिफ्टको पनि व्यवस्था गरिएको महानगरीय प्रहरी वृत्त महाराजगंजको भवन डिएफआईडीको सहयोग र युएनओपीएसको सहकार्यमा करिब ११ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । सो आधुनिक प्रविधियुक्त भवन ५ तले रहेको वृत्तका प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिनुभयो ।

यस्तै महानगरीय प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टेको भवन उद्‍घाटन समारोहमा उक्त वृत्तका प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै लक्ष्मेश्वर गुठीको नाममा रहेको उक्त कार्यालय भवनको जग्गा खरिद कार्यको लागि ११ करोड ३० लाख ५० हजार भुक्तानी गरी गत असार ३० गतेबाट जग्गा समेत बृत्तको स्वामित्वमा आएको जानकारी दिनुभयो ।
साथै नेपाल सरकारको नियमित बजेटबाट कूल ७ करोड ९३ लाख ७६ हजार ३ सय ७२ रुपैयाँ ९२ पैसाको लागतमा ३१ वटा कोठा सहितको ५ तले उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षकहरु, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, चलचित्रकर्मीहरु, संचारकर्मी एवम् वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?