नौ वर्षपछि पुन : शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

काठमाडौं । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उहाँको भनाइ छ ।

यस्तै निरौलाका अनुसार सोमबारसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ ले अनुमति लिएका छन् । यो हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाइ आठ हजार १५६ मिटर रहेको छ । त्यस्तै आठ हजार ५१६ मिटर उचाइको लोत्से हिमाल आरोहणका लागि दुई समूहका १३ र सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका आठ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार आठ हजार २६७ मिटर उचाइको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन् । अहिलेसम्म देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका ५१८ आरोही छन् । सोमा ११४ महिला र ४०४ पुरुष आरोही रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा निरौलाले जानकारी दिनुभयो ।

सगरमाथा आरोहणको इतिहास

सन् १९५३ मे २९ तारिखका दिन बिहान ११ः१५ बजे न्यूजिल्याण्डका नागरिक सरएडमण्ड हिलारी र नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेका थिए । त्यसपछि आरोहणको क्रम शुरु भएको पाइन्छ ।

सगरमाथा आरोहणको उत्तम समय वसन्त ऋतुलाई लिइने गरिन्छ । शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ ।

सन् २०१९ कै वसन्त ऋतुमा विभिन्न समूहका ३८१ ले आरोहण अनुमति लिएका थिए भने आरोही र उनका सहयोगीसहित करीब ७०० ले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । आरोहणका क्रममा नौको ज्यान गएको थियो । उनीहरुको मृत्युको कारण सगरमाथा आरोहणका क्रममा ट्राफिकजाम भनेर दाबी गरिए पनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो ।

उक्त याममा हुने भीड र समस्यालाई शदर ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन् । आरोही किताबसिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का वर्षातसँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ । वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प-१ सम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने आफ्नो जिम्मेवारी मान्दैन र कुनै पनि कार्य गर्दैन ।

समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार वसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प-१ सम्मको बाटो बनाउन सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ । नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिंले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?