काठमाडौं । जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि नष्ट गरिएको छ ।
बजार अनुगमनमा पिपल्लाको कोटभैरव जनरल स्टोरमा मात्रै करीब पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु अनुगमन टोलीले पक्राउ गरेको थियो । दिपायल, पिपल्ला र राजपुर बजारमा गरी २१ पसलमा उक्त टोलीले छड्के अनुगमन गरेको थियो ।
त्यस्तै यहाँका सामुदायिक अस्पताल, निजी अस्पताल, फार्मेसी र निजी क्लिनिकमा गरिएको अनुगमनका क्रममा विभिन्न कम्पनीका म्याद गुज्रेको औषधि फेला पारेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले बताउनुभयो ।
त्यसैगरी यहाँका अधिकांश स्वास्थ्य संस्थामा कुनै संस्थामा कागजात नभएका, कुनैमा म्याद नाघेका औषधि रहका, कुनैमा मूल्यसूची नरहेको, कुनैमा ओपिडी दर्ता नभएको, कुनैमा दर्ता प्रमाणपत्र नभएको अनुगमन टोलीले जनाएको छ ।
पिपल्ला बजार र राजपुरमा गरिएको अनुगमनबाट करीब आठ लाख बराबरको म्याद नाघेका अखाद्य वस्तु फेला पर्नुका साथ केही म्याद नाघेका औषधि फेला परेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।
अखाद्य वस्तुलाई कानूनी प्रक्रियाअनुसार नष्ट गरिएको छ । म्याद गुज्रेको अखाद्य वस्तु एमएस सप्लायर्स, कोटभैरब जनरल स्टोर, सुबिन ट्रेडर्स, घटाल सप्लार्यस, कलेल ट्रेडर्स एण्ड सप्लार्यसबाट भेटिएको टोलीले जनाएको छ ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोली रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया