कतै नि:शुल्क, कतै १० रुपैयाँमै ‘सपिङ’ (फोटोफिचर)

काठमाडौं । नेपालीहरुको महान चाड हो दशैँ । असोज १२ गते घटस्थापनाको दिनदेखि यसवर्षको दशैँ सुरु भैसकेको छ । दशैँ भन्ने बित्तिकै ‘सपिङ’को कुरा आउँछ । प्राय: नेपालीहरु यतिबेला किनमेल अर्थात् ‘सपिङ’मा व्यस्त छन् ।

दशैँमा नयाँ लुगा लाउने चलनले गर्दा पनि यतिबेला वर्षको अन्य समयको तुलनामा बढी सरसामान र लत्ताकपडाको किनमेल हुन्छ । चाडपर्व नजिकिएसँगै महँगी पनि बढेको छ । ‘सपिङ’ गर्दा ठगिने र महँगीमा परिने डर आम सर्वसाधारणमा हुन्छ ।

तर काठमाडौंसहित देशका विभिन्न शहरमा यस्तो पनि बजार छ जहाँ सुपथ मुल्यमा नै जुत्ता र लुगा पाइन्छ अर्थात् ‘सपिङ’ गर्न पाइन्छ।  आर्थिक अवस्था कमजोर भएकाहरुका लागि उपयुक्त गन्तव्य हो कपडा बैंक । कपडा बैंक त्यस्तो गन्तव्य हो जहाँ अति निम्न आयस्तर भएकाहरुका लागि १० रुपैयाँ वा नि:शुल्कमा कपडा र लुगा पाइन्छ ।

काठमाडौंको अनामनगरमा पनि कपडा बैंक छ जहाँ अत्यन्तै सस्तो मुल्यमा कपडा र लुगा पाइन्छ । यो बैंक ‘हन्ड्रेड्स ग्रुप’ नामक युवाहरूको समूहले संचालन गरेको हो। आफैंले लगाइराखेका एक–दुई जोर कपडाबाट सुरू गरेको अभियानले अहिले ‘कपडा बैंक’को रूप लिएको हो।

समाजमा असक्त, असहाय पनि छन्, जसको कोही छैन। उनीहरूका लागि लक्षित गर्दै यो ‘कपडा बैंक’ संचालनमा आएको हो ।

कतिपय मान्छेलाई आफूलाई प्रयोग नहुने सकुशल नै सामान पनि यसै थन्क्याएर राख्नुपर्ने बाध्यता हुन्छ । कसैलाई दिइहाल्ने अवस्था पनि जुर्दैन। पुराना सामान दिन र लिन मान्छे हिचकिचाउँछन् पनि । यो अभियानले सामान लिने‍‍-दिने दुवैलाई सहयोग गर्दै आएको छ । यतिबेला ‘कपडा बैंक’ लाई पनि दशैँ लागेको छ । यहाँ लुगा दिने र लिनेको भिड लागेको छ ।

हेर्नुहोस् ‘कपडा बैंक’ को चहलपहल,लोकपथाको लेन्समा जे देखियो :

तस्वीर : बिप्लव जमकटेल

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?