काठमाडौं । जाजरकोटको विभिन्न सामुदायिक वनमा मापदण्डविपरीत खोटो खोटो सङ्कलन गर्दा सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको छ ।
जाजरकोटका शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकालगायतका ४९ सामुदायिक वनमा मापदण्डविपरीत जथाभावी खोटो खोटो सङ्कलन गर्दै आएपछि सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै गएको हो ।
नियमानुसार एक हेक्टर वनमा पाँचदेखि १० वटा माउ रुखलाई सुरक्षित राख्नुपर्ने खोटो सङ्कलन कार्यविधिमा उल्लेख छ । त्यस्तै कार्यविधिमा जमीनको सतहबाट एक मिटर ३० सेन्टिमिटर उचाइमा ३० सेन्टिमिटरभन्दा बढी ब्यास भएका सल्लाको रूखबाट मात्र खोटो निकाल्न पाइने व्यवस्था छ । तर त्यसको पालना भएको छैन ।
कार्यविधिमा उल्लेख गरिएको भन्दा कम व्यासका रूखबाट खोटो निकालेर प्रयोग गर्दा सल्ली रुख सुक्ने समस्या देखिएको छ । जाजरकोट ढिमेका राधिका मल्लले जङ्गलका सबै रूखमा चारैतिरबाट पटक–पटक खोटो निकाल्दा सल्लेरी वन विनाश हुँदै गएको बताउनुभयो ।
सल्लेरी वनका रूख सुक्नुको अर्को कारण अधिक मात्रामा एसिड प्रयोग गर्नु पनि हो । खोटो कम्पनीहरूले खोटो बढी झार्नका लागि सल्फ्युरिक एसिडको प्रयोग गरेका कारण बढी समस्य देखिएको हो । यसले सल्लाको रूखलाई सुकाउने डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख महेश कुमाईले बताउनुभयो । उहाँका अनुसार एउटा रूखमा दुईभन्दा बढी बेलेज ९खोटो स्राव गराउने बाटो० बनाउनु, जङ्गलमा रहेका सबै रूखबाट खोटो निकाल्नु र आवश्यकताभन्दा बढी मात्रामा एसिडको प्रयोग गर्नुजस्ता कारणले सल्लेरी वन क्षेत्र सङ्कटमा पर्दै आएको छ ।
अनुगमनका क्रममा मापदण्डविपरीत खोटो सङ्कलन गरेको देखिए पनि कारवाही गर्न भने नसकेको उहाँले स्वीकार गर्नुभयो । गत आर्थिक वर्षमा एउटै सामुदायिक वनले रु ५० लाखसम्मको सल्लाको काठ बेचेको पाइनु वन विनाशको अवस्था छर्लङ्ग हुने उहाँको भनाइ छ ।
जाजरकोट सामुदायिक वनबाट खोटो निकाल्ने काम दुई दशकयता हुँदै आएको हो । खोटो निकाल्ने कार्य व्यवस्थितरूपमा अघि नबढ्दा व्यापार–व्यवसायको नाममा वन विनाश भइरहेको स्थानीयवासी बताउँछन् ।
खोटो सङ्कलनको नाममा भइरहेको वन विनाशबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता हुने गरेको स्थानीयवासीको भनाइ छ ।
जथाभावी रूपमा खोटो सङ्कलन गर्ने काम बन्द गर्नुपर्ने धारणा स्थानीयवासीको छ । “खोटो सङ्कलकलाई छाडा छाड्दियो भने १० वर्षमा सल्लाघारी पूरै सखाप हुनेछ”, स्थानीयवासी बताउँछन्, “जङ्गलको नियमित निरीक्षण र अनुगमन शून्य छ ।” जङ्गलमा रहेका सबै रुखबाट खोटो निकाल्नु, तोकेको मात्राभन्दा बढी एसिडको प्रयोग गर्नु मापदण्ड विपरीत भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
खोटो सङ्कलक कम्पनीले वार्षिकरूपमा खोटो सङ्कलन तथा निकासी गर्न पाएको अनुमतिभन्दा दोब्बर सङ्कलन गर्ने गरेका छन् । कार्यविधिमा हरेक वर्ष चैतदेखि कात्तिकसम्म खोटो सङ्कलन गर्ने समय तोकिएको छ । खोटो निकाल्नका लागि एउटा रूखमा अधिकतम ३२ जोडी रिल बनाउनुपर्छ । कम्पनीले भने छोटो समयमा धेरै खोटो निकाल्न सय जोडी रिल बनाउने गरेका छन् । यसले अनुमति लिएकाभन्दा दोब्बर मात्रामा खोटो निकालिने गरेको डिभिजन वन प्रमुख कुमाईले बताउनुभयो ।
जाजरकोटको शिवालय गाउँपालिका, कुशे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र नलगाड नगरपालिकाका चार दर्जन सामुदायिक वनबाट खोटो सङ्कलन हुने गरेको छ ।
जाजरकोटका जङ्गलबाट बाँकेका जयबागेश्वरी रोजिन र देउती रोजिन एण्ड टर्पेन्टाइन उद्योग, कपिलवस्तुको स्वस्तिक रोजिन एण्ड टर्भेन्टाइन, रूपन्देहीको एभरेस्ट हर्बल एण्ड रोजिन र माउण्ट रोजिन एण्ड टर्पेन्टाइनले खोटो सङ्कलन गरेर निकासी गर्ने गरेका छन् । ती कम्पनीले गत आर्थिक वर्षमा १४ लाख ३२ हजार २७ केजी खोटो निकासी गरेका थिए । सामुदायिक वनले खोटोबाट रु एक करोड ७२ लाख आम्दानी गरेका छन् ।
यता डिभिजन वनले सामुदायिक वनको खाता रोक्का गरेको बताएको छ । जथाभावी भएपछि समूहका खाता रोक्का गरिएको कुमाईले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया