घमाइलो हुने भयो दशैँ : मौसमविद्ले सुनाए खुसीको खबर

लोकपथ संवाददाता
0
Shares
तस्वीर : मौसम पूर्वानुमान महाशाखाको वेवसाइटबाट

काठमाडौं । नेपालीहरुको महान चाड हो दशैँ । असोज १२ गते घटस्थापनाको दिनदेखि यसवर्षको दशैँ सुरु भैसकेको छ । यतिबेला सबैलाई चिन्ता छ दशैँ घमाइलो नहुने पो होकी भनेर । असोजको आधा महिना बित्दा पनि मौसम सफा हुने कुनै छाटकाट देखिएको छैन । जसले गर्दा दशैँ मनाउन घर जानेहरु मुहारमा पनि त्यति दशैको उत्साह छैन । वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर कतिपय ठाउँमा जाने बाटो नै अरुरुद्द बनेको समाचारहरु अझै संचारमाध्यममा आइरहेकै छन् । जसले गर्दा यात्रुहरुमा त्यति उत्साह छैन । उनीहरुलाई बाटोमै भारी वर्षा भएर अलपत्र परिने होकी भन्ने चिन्ता छ ।

यहि दोधारका बिचमा मौसम पूर्वानुमान महाशाखाले अब तत्काललाई झरी नपर्ने जनाएको छ । हाल देशको मध्य भूभागमा सामान्य बदली हुनुका साथै पूर्वी तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । पहाडी भूभागका कतिपय स्थानमा छोटो समयको लागि छिटपुट वर्षा हुने सम्भावना भए पनि अब तत्काललाई झरी नै भने नपर्ने मौसमविदले औल्याएका छन् ।

जुन १० तारेखमा मनसुन भित्रिनुपर्नेमा यसपालि जुन २० मा मात्रै भित्रिएकोले पूर्वनिर्धारित समय भन्दा केही बढी मनसुन कायम रहेको मौसमविदले जनाएका छन् ।

आज मध्य तथा पूर्वका थोरै स्थानमा साथै पश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो महाशाखाले भारतको उत्तर प्रदेश आसपासमा न्युनचापीय प्रणाली रहेको र यसले नेपालमा सामान्य प्रभाव परेको जनाएको छ ।

यस्तो छ तीन दिनको महाशाखाले जारी गरेको ३ दिनको मौसम बुलेटिन :-
असोज १६ गते (बिहिबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि र पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भुभागका थोरै साथै पश्चिमका १ वा २ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

असोज १७ गते (शुक्रबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

असोज १८ गते (शनिबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि पुर्वी भुभाग लगायत मध्य पहाडी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?