काठमाडौं । दशैँलाई नेपालीहरुकै सबैभन्दा महान चाडका रुपमा मनाइन्छ । यसको शुरुवात कहिले भयो भन्ने लिखित प्रमाण नभएपनि किंवदन्ती अनुसार दशैँ वैदिक कालदेखि नै मनाइदै आएको विश्वास छ ।
दशैँलाई लिएर दुई प्रकारका विश्वास छन् । एउटा नवदुर्गा भवानीसँग सम्बन्धित र अर्को भगवान रामले रावणमाथि हाँसिल गरेको जीतसँग ।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको गरी घटस्थानाको दिनदेखि नवमीसम्म दुर्गा भवानीका ९ रुपको पूजा आराधना गरिन्छ । नवदुर्गा भवानीले राक्षशहरुको संहार गरेर असत्यमाथि जीत हासिल गरेको हुनाले दशैँमा शक्तिको आराधना गर्ने शास्त्रीय नियम छ ।
अर्को भनेको, यही दिन भगवान रामले दश इन्द्रियहरुमा विजय प्राप्त गरिसकेको रावणमाथि विजय प्राप्त गरेर असत्य र नकारात्मक शक्तिलाई सत्यले जित्छ भनेर प्रमाणित गरेकाले नै यस दिनलाई विजय दशमीका रुपमा मनाइएको हो ।
सांस्कृतिक महत्व एकातिर छँदै छ, यसका अतिरिक्त हाम्रा ५ कर्मेन्द्रिय र ५ ज्ञानेन्द्रियका नराम्रा पक्षहरुमाथि विजय प्राप्त गरेर जीवनलाई सत्मार्गतिर लैजाने सकारात्मक उर्जा प्रदान गर्ने भएकाले दशैँलाई भव्य रुपमा मनाइँदै आएको हो । आफूभन्दा मान्यजनबाट टिका थापेर, उहाँहरुको आशीर्वाद ग्रहण गरेर सुकर्ममा लाग्ने एकप्रकारको अभिलाषा हामीमा रहेको छ ।
महत्व एकातिर छ भने पौराणिक धार्मिक महत्व अर्कोतिर रहेको छ ।
दशैँको समयमा मौसम स्वच्छ हुने, हिलोमैलो नहुने आकाश पनि स्वच्छ, सुन्दर हुने हुदाँ वातावरणीय हिसाबले पनि यसलाई राम्रो मानिएको छ । सामाजिक, धार्मिक, सांस्कृतिक विविधता सम्पूर्ण दृष्टिकोणबाट सबैमा आफ्नो उत्कृष्ट पहिचान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया