सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं। रौतहट,सप्तरी, भोजपुर,नवलपरासी र बाराका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् ।

नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-१६ स्थित सडकमा ना.७ ख ५८१५ नम्बरको बस र लु.२ च ६०७० नम्बरको बोलेरो गाडी एक आपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका हाल नाम थर, वतन नखुलेका बोलेरो गाडीका चालकको मध्यबिन्दु अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बोलेरो गाडीमा सवार हाल नाम थर, वतन, नखुलेका व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे  छ ।

त्यस्तै सप्तरी, खड्क नगरपालिका-८ बिसनपुर चौकस्थित सडकमा बा.६८ प ६८८७ नम्बर र ज.६ प ६८५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा बा.६८ प ६८८७ नम्बरमा सवार सुरुङगा नगरपालिका-१ पिपरा बस्ने २७ वर्षीय अरबिन्द चौधरी र ज.६ प ६८५३ नम्बरको मोटरसाइकलमा सवार खड्क नगरपालिका-६ बिरपुर बस्ने २८ वर्षीय अनबारुल अनसारीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ ।

बारा, बारागढी गाउँपालिका-५ स्थित सडकमा ना.३९ प २४४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका पुरुषको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

भोजपुर, हतुवागढि गाउँपालिका-५ होम्ताङस्थित सडकमा को. २ ह ७६८६ नम्बरको टेम्पु अनियन्त्रित भई सडकदेखि अन्दाजी ६० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका टेम्पुमा सवार हतुवागढि गाउँपालिका-४ खैराङ बस्ने मिलन राईकी छोरी ८ वर्षीया गुराँस राईको प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक समेत अन्य ४ जनालाई उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान अस्पताल लगिएको छ ।

रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा ग.१ ख ६१०७ नम्बरको बस र बिआर ०५ एबि ८०५५ नम्बरको कार एक आपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा कारमा सवार भारत पूर्वी चम्पारण रक्सौल बस्ने २५ वर्षीय सागर कुमारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको चपुर अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिनुका साथै फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

अलग अलग ठाँउमा भएको दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?