रामलीलाको १५२ औँ संस्करण समापन

काठमाडौं । नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन समापन भएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण गएराति समापन भएको हो ।

एकसय ५२औँ वर्षमा प्रवेश गरेको नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्य, सभ्य र सफलरुपमा सम्पन्न भएको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिनुभयो ।

सञ्चालक समितिका कार्यवाहक अध्यक्ष कानोडियाका अनुसार, भारतको वृन्दावनबाट ल्याइएका कलाकारले रामलीला मञ्चन गरेका हुन्् । धनुषयज्ञ, रावणबध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन भएको छ ।

वृन्दावनका प्रसिद्ध कलाकार राधारमण शर्मा नेतृत्वको १५ जनाको टोलीले यो वर्षको रामलीला मञ्चन गरेको सञ्चालक समितिका सञ्चालक समितिका महामन्त्री जगदीशप्रसाद वैश्यले जानकारी दिनुभयो ।

समापन समारोहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज धार्मिक सद्भावको शहर भएकाले यहाँ धार्मिक विशिष्टता रहेको बताउनुभयो । “यहाँ विभिन्न धर्मका मानिस बस्छन्, सय बढी भाषाभाषी बोलिन्छन्”, मन्त्री राईले भन्नुभयो, “नेपालमा भौगोलिक रुपमा तराई, पहाड, हिमाल छन्, तर सबै मिलेर बसेका छन्”, मन्त्री राईले भन्नुभयो, “नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ ।” सो अवसरमा रामलीला सञ्चालक समितिले मन्त्री राईलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?