काठमाडौं । कुनैबेला सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका साथै सम्मानको प्रतीक मानिएको मखानखेती अहिले लोप हुन थालेको छ । बद्लिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयौँ पोखरीमा माछापालन गर्न थालेपछि महोत्तरी जिल्लाबाट मखानखेती लोप हुन थालेको जानकारहरु बताउँछन् ।
जिल्लामा चाडबाड, पर्व त्यौहार, पूजाआजा, विवाह व्रतबन्ध जस्ता शुभ कार्य होस् कि मानिसको मृत्यु संस्कार र श्राद्ध कर्मसमेतमा मिथिलामा मखानको प्रयोग हुने गर्दछ । निक्कै मीठो खाद्य पदार्थका रुपमा रहेको मखान भारतबाट समेत आयातित हुन थालेकाले जिल्लाको मलाह जातिको रोजगारीसमेत घट्दै गएको मलाह जातिका नेता रामविशेष मुखिया बताउनुहुन्छ ।
धेरै आम्दानीका लागि किसान माछापालन गर्न थालेपछि सो खेती लोप हुन थालेपछि उनीहरुको पेशा सङ्कटमा परेको छ । विशेषगरी पोखरी तलाउमा गरिने मखानखेतीमा शुरुमा केही मेहनत र खर्च गर्नु परे पनि पछि थोरै मिहेनतमा प्रशस्त आयआर्जन गर्न सकिने भएकाले पनि यहाँका मलाह जाति मखानखेतीतर्फ दिनप्रतिदिन आकर्षित भएका थिए । अहिले यस पेशाप्रति किसान उदासिन देखिएका छन् ।
मखान पोखरीभित्र तयार भएपछि मलाह जातिले पोखरीमा डुबुल्की लगाएर कठिनरुपमा पानी बाहिर निकाली घाममा सुकाई आगोमा भुटेर लावा तयार गरी बेच्ने चलन रहेकामा अहिले ती क्रियाकलाप देखिन छाडिएको छ । मखानखेती जिल्लाको मटिहानी, सिमरदही, धिरापुर, आवर रामगोपालपुर, हरिहरपुर हरिनमरी र सदरमुकाम जलेश्वर नगरपालिका क्षेत्रलगायत दर्जनौँ गाउँमा करीब २५० बढी पोखरीमा गरिन्थ्यो तर अहिले कताकतै मात्र हुने गरेको स्थानीय बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया