राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण भएन : पुर्व राष्ट्रपति यादव

काठमाडौं । पुर्व राष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोण नभएको बताउनुभएको छ ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आईतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राष्ट्रपति यादवले स्वर्गीय गिरिजा प्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण नभएको बताउनुभएको हो । तात्कालिन शसस्त्र द्धन्द्धको अन्त्य संगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उहाँले वर्तमान नेतामा भने ‘भिजन’ नै स्पष्ट नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “ अहिलेका नेताहरुमा न हृदय छ । न भिजन छ । होराईजन नै सानो देखिएको छ । ”

पुर्व राष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना , राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनिय रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक विकासक्रम संगै विकास निर्माण, मेडिकल कलेजको विस्तार तथा समग्र शिक्षा प्रणालीमा गिरिजा प्रसाद कोइरालाको योगदान महत्वपुर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा नेताहरु शेखर कोइराला, डाक्टर रामशरण महत, सुजता कोइराला लगायतले स्वर्गीय कोइरालाको योगदानको चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?