काठमाडौं । हामी मन्दिर जाँदा लाइन लागेर भिक्षा माग्न बसेका मानिसहरु देख्छौ । मन्दिरमा धर्म कमाउन आउने मानिसले त पक्कै केही त दिन्छन् भनेर आश बस्ने गरेका हुन्छन् । तर यस्ता मन्दिरहरुपनि छन् जहाँ भिक्षा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका र रुपन्देहीको बुटवलमा रहेका दुईवटा शिद्धबाबा मन्दिर परिसरलाई भिक्षा निषेधित क्षेत्र घोषणा गरिएको छ।
सोमबार बिहान पाल्पाको शिद्धबाबामा आयोजित एक कार्यक्रममा मन्दिर परिसरलाई भिक्षा निषेधित क्षेत्र घोषणा गरेर कार्यान्वयन प्रक्रिया समेत अघि बढाइएको हो। कार्यक्रम लगत्तै शिद्धबाबा परिसरमा भिक्षा मागेर बस्ने १८ जनालाई मानव सेवा आश्रममा लगेर राखिएको छ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालले निषेधित क्षेत्रको घोषणा गर्दै ‘सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश’ घोषणा गर्ने पाँच नम्बर प्रदेश सरकारको नीतिबमोजिम यो अभियानको सुरुवात गरिएको समेत बताउनुभयो ।
साथै सुरुमा मठमन्दिरमा बसेर भिक्षा माग्नेहरुको व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो । ‘मठ मन्दिरलाई मात्र नभइ सिंगो प्रदेशलाई भिक्षा निषेधित र सडक मानवरहित बनाउँछौं,’ मन्त्री बरालले भन्नुभयो , ‘पहिलो स्टेप यहीँबाट सुरु भएको छ।’ उनले दान गर्न चाहनेले व्यक्ति–व्यक्तिलाई नभइ मन्दिर विकास समिति तथा मानव सेवा आश्रममा सहयोग गर्न आग्रह गर्नुभयो ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मन्दिरमा बस्ने असाहयहरुको संरक्षण गर्न आश्रम सधै प्रतिबद्ध रहेको बताए। ‘मठ मन्दिरमा बेसाहारा भेटिएमा हामीले ठाउँ छैन भन्दैनौं,’ उहाँले भन्नुभयाे। अधिकारीले तिहारपछि सिंगो रुपन्देहीलाई ‘सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला’ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
मन्दिरमा ३ किसिमका भिक्षा माग्नेहरु रहेको शिद्धबाबा मन्दिर विकास समिति पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘पहिलो सन्त महन्त, सबै त्यागेर मन्दिरमै बस्ने, दोस्रो साहारा विहीन तथा असाहयहरु, तेस्रो यहाँ दान भिक्षा लिने र बजारमा गएर मदिरा सेवन गर्नेहरु छन्,’ । ‘पहिलोलाई मन्दिर व्यवस्थापन समितिले नै व्यवस्थापन गर्छ। दोस्रो र तेस्रो प्रकारका भिक्षा माग्नेलाई मानव सेवा आश्रममा लगेर राखिने छ।’
पाँच नम्बर प्रदेशको मानव सेवा आश्रमको सहकार्यमा सडक मानव मुक्त बनाउन सामाजिक विकास मन्त्रालयले बुटवलका लागि २५ लाख र नेपालगञ्जको लागि २५ लाख गरी ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया