काठमाडौंमा सुरु हुँदै एनआरएनए महाधिवेशन, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ। नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुने सम्मेलनको हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार हुन लागेको हो । एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गर्ने कार्यक्रम  छ ।

काठमाडौँको चुच्चेपाटीस्थित होटल हायातमा हुने सम्मेलन असोज ३० सम्म चल्नेछ । अध्यक्षका लागि यसपटक हालका दुई उपाध्यक्ष कुमार पन्त र कुल आचार्य मैदानमा हुनुहुन्छ । विभिन्न पेसा–व्यवसायको सिलसिलामा करिब ८० लाख नेपाली देश बाहिर रहेको अनुमान छ । एनआरएनएमा विश्वका विभिन्न देशमा पुगेका यिनै नेपालीहरू संगठित छन् ।

के गर्छ नयाँ नेतृत्वले ?
नवौं महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनलगायतका महत्त्वपूर्ण सांगठनिक निर्णय गर्नेछ ।
एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था छ । धेरै आकांक्षी भएका कारण पनि यो चुनाव निकै रोचक हुनेछ । संघको नयाँ नेतृत्वका लागि ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि, स्वदेशी विदेशी गरी करिब २ हजार ५ सयको सहभागिता रहनेछ।

सम्मेलन उद्घाटनको भोलिपल्ट बुधबार उम्मेदवारको मनोनयन दर्ता प्रक्रियादेखि मतदानको प्रक्रियासम्म चल्नेछ ।

बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान भइसक्ने र निर्वाचन सम्पन्न भएको एक घण्टामा मतगणना गर्ने बताइएको छ ।
सम्मेलनको  समापान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?