वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्छ : कमल थापा

काठमाडौं, २६ पुस । उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले अब वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने स्पष्ट पारेका छन् बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री थापाले चुनाव सम्पन्न हुनेवित्तिकै सरकार गठन हुनुपर्ने बेलामा प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउँदा गम्भिर भूल गरेकोले अहिले संवैधानिक जटिलताहरु उत्पन्न भएको बताएका हुन् उनले भने,‘अहिले देखिएको संवैधानिक जटिलताहरुमा हामीले संविधान जारी गर्दा पर्याप्त ध्यान दिईएन, खासगर चुनाव सम्पन्न भएपछि नयाँ सरकार गठन हुनुपर्ने हो, तर ठूला दलहरुले सिर्जना गरेको जटिलताका कारण नयाँ सरकार गठनमा ढिलाई भयो, अब चाहीँ सरकार निर्माणको ट्रयाकमा हिँडेको छ, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसदले पूर्णता पाउँछ, संसदले पूर्णता पाएको एक हप्ताभित्रै नयाँ सरकार गठन हुन्छ।’उनले सरकार गठनमा भएको ढिलाईप्रति कसैले कसैलाई दोष लगाउन आवश्यक नरहेको जिकिर गरे । उनले भने,‘जनताले बाम गठबन्धनलाई नयाँ सरकार गठनको लागि म्याण्डेट दिएका छन्, जनतको म्याण्डेट अनुसार वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्छ, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सरकार गठन गर्न असफल हुनुभयो भने जनताप्रतिको ठूलो धोका हुन्छ।’ वाम गठबन्धनले चुनावमा जानुपुर्व नै अबको सरकार स्थिर हुने भनेर आश्वासन बाँडेकोले जनताले सोही अनुसार म्याण्डेट दिएको उनको भनाई थियो जनताको म्याण्डेट अनुसार वाम गठबन्धनको सरकार नबने मुलुकमा फेरि राजनीतिक अस्थिरता ल्याउने र मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउन बाधा उत्पन्न हुने उल्लेख गर्दै थापाले भने,‘जनताको म्याण्डेट अनुसार नै वाम गठबन्धनको सरकार बनाउनुपर्छ, हामी यही चाहन्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?