काठमाडौं महानगरपालिका वडा नं ११ स्थित थापाथलीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको गोपाल मन्दिर साढे चार वर्ष अघिको भूकम्पले पूर्णरूपमा क्षति भयो । भूकम्पपछिको प्राविधिक समूहले मन्दिरको जाँच गरी भित्र नपस्न पुजारीलाई सुझायो । त्यसपछि पुजारीले बाहिरैबाट पूजा गर्न थाले । भूकम्पको चार वर्ष बित्यो ।
तर अझै मन्दिर बन्ने नबन्ने निश्चित छैन । मन्दिरको रेखदेख गर्ने जिम्मेवारी पाएको गुठी संस्थान जिल्ला शाखा काठमाडौँका निमित्त कार्यालय प्रमुख नारायणभक्त श्रेष्ठ पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका र संस्थानका बीच पुनःनिर्माणका बारेमा त्रिपक्षीय कुराकानी भइरहेको बताउनुहुन्छ । शाखाको भवन नै भूकम्पले क्षतिग्रस्त भएपछि बजेटको अभावमा बनाउन नसकिएको पनि उहाँले सुनाउनुभयो । महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार विभागले नै मन्दिर पुनःनिर्माण गर्ने गरी कुराकानी भइरहेको सुनाउनुहुन्छ ।
मन्दिर पुनःनिर्माण गरिदिने दाता आउँदा विभागले नक्साको डिजाइन नगरेकाले काम हुन नसकेको उहाँले बताउनुभयो । नक्सा डिजाइन नै नभएपछि दाता फर्किए । विसं १९४० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले मन्दिर निर्माण गराउनुभएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । जङ्गबहादुरले बझाङी राजाको छोरी ल्याएपछि दरबारमा रानीहरुले भित्र्याउन दिएनन् । त्यसपछि प्रधानमन्त्री जङ्गबहादुरले वाग्मती नदी किनारमा गोपाल मन्दिर निर्माण गरी पुजारीका रूपमा राखेको इतिहास रहेको पुजारी केदारनाथ पौडेलले बताउनुभयो ।
ती रानीले जीवनकालभर मन्दिरको पूजा आजा चलाउनुभयो । रानीले अन्तिम समयमा ‘अबदेखि कुनैपनि महिला यो मन्दिरमा नछिर्नु, छिरे राम्रो हुँदैन’ भनी श्राप दिएपछि ब्राह्मण पुजारीको व्यवस्था गरिएको हो । त्यसपछि हालसम्म पनि महिला यो मन्दिरमा छिरेका छैनन् । मन्दिरको पूजा खर्च चलाउन नुवाकोट, धादिङ, भक्तपुर र ललितपुरमा गरी करिब ६० रोपनी जग्गा गुठीका रूपमा राखिएको थियो । त्यहाँबाट आउने धान राख्न मन्दिरको पूर्वी भागमा धान गोदाम पनि निर्माण गरिएको छ । भूकम्पले धान गोदाममा पनि क्षति गरेको छ ।
यो भवन पुनःनिर्माणको पनि टुङ्गो छैन । गुठी जग्गाबाट धानको सट्टा पैसा आउन थालेपछि १० वर्ष अघिदेखि धान गोदामलाई पुजारी पौडेलको आवासगृह बनाइएको थियो । भूकम्पले क्षति गरेपछि पुजारी पौडेललाई अर्को भवनमा सारिएको छ । पुजारीलाई पहिले वार्षिक ११ मुरी धान दिने गरिएकामा हाल एक मुरी धान बराबर रु एक हजार ५०० पारिश्रमिक दिइन्छ ।
मन्दिरको पश्चिम दक्षिण भागको सत्तल भने विसं २०४२ देखि नै नेपाल अन्धा कल्याण सङ्घ नामको सामाजिक संस्थालाई दिइएको छ । यो भवनमा हाल नेपालकै पहिलो ब्रेल पुस्तकालय सञ्चालनमा छ । पुस्तकालयमा १८ हजार दृष्टिविहीनले अध्ययन गर्न सक्ने ब्रेल माध्यमका पुस्तक राखिएको कार्यक्रम अधिकृत फौज कार्कीले बताउनुभयो । यो सत्तल जीर्ण भएपछि सङ्घले विभागको स्वीकृति लिएर अत्याधुनिक भवन बनाएको पनि उहाँले जानकारी दिनुभयो । विसं २०७२ पछि संस्थाको नाम परिवर्तन गरी नेपाल दृष्टिविहीन सङ्घ बनाइएको छ । हाल १५ जिल्लाका दृष्टिविहीनका लागि ब्रेल माध्यमका पुस्तक उपलब्ध गराउनेलगायत कार्यक्रम चलाइएको पनि कार्कीले बताउनुभयो । रासस
तस्विर : गुगलबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया